इटहरीः सुनसरीस्थित इटहरी २ मा निर्माणाधीन ग्राभेल सडकमा गाडिएको अवस्थामा ‘प्लास्टिक हेण्ड ग्रिनेड’ बम फेला परेको छ ।

शनिवार बिहान इटहरी २ अन्नपूर्ण मार्गका स्थानीय ११ वर्षीय बालकले दुई महिना अघि ग्राभेल गरेको सडकमा फलामको ‘डल्लो’ जस्तो देखिन बस्तु फेला पारेका थिए । बालकले उक्त बस्तु सडकबाट कोट्याएर निकालेर धारामा सफा गदै गरेको अवस्थामा बालकको आमाले देखेपछि प्रहरीलाई खबर गरेकी थिइन । इलाका प्रहरी कार्यालय इटहरीले उक्त बस्तु प्लास्टिक हेण्ड ग्रिनेड भएको पुष्टि गरेपछि नेपाली सेनाको टोलीले ग्रिनेडलाई डिस्पोज गरेको थियो । इटहरीस्थित नेपाली सेनाको २ नं. बाहिनीको कृष्ण दल गणबाट उप सेनानी मङ्गल श्रेष्ठको कमान्डमा गएको सेनाको टोलीले उक्त हेण्ड ग्रिनेडलाई डिस्पोज गरेको हो । प्रहरीका अनुसार निर्माणाधीन ग्राभेल सडक भर्नको लागि सेउती खोलाबाट मिसगिटी ल्याइएको बताइएको छ ।

मिसगिटी ल्याइएको सेउती खोलाको केही स्थानमा अहिले सिल गरिएको जनाइएको छ । सो क्षेत्रमा थप विस्फोटक पदार्थ हुन सक्ने अनुमानका साथ ‘सर्च’ खोज तलास गर्न लगाइएको सुनसरीका प्रहरी उपरीक्षक सञ्जयसिंह थापाले जानकारी दिए । सर्चमा अहिले इलाका प्रहरी कार्यालय धरान, इटहरी र सेनाको एक टोली परिचालित छ । ‘ग्रिनेड बाढीले बगाएर ल्याएको वा द्धन्दकालीन समयमा गाडिएको हुन सक्ने हाम्रो अनुमान हो,’ थापाले भने ‘सेना र प्रहरीको टोली सो क्षेत्रमा अहिले परिचालित भएको अवस्था छ ।’