इटहरीः राष्ट्रिय परीक्षा बोर्डले २०७७ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई)को परीक्षाफल आज सार्वजनिक भएको छ ।
वद्यार्थी अध्ययन गरेकै विद्यालयले गरेको मूल्यांकन देशभरबाट संकलन गरी नतिजा प्रकाशन गरिएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । बोर्डका कक्षा १० तर्फका परीक्षा नियन्त्रक रुद्र प्रसाद अधिकारीका अनुसार विद्यालयले पठाएको आन्तरिक मूल्याङ्कन प्रतिवेदनका आधारमा नतिजा प्रकाशन गरिएको हो । बोर्ड आफैँले परीक्षा सञ्चालन नगरेकाले नतिजाको विश्लेषण भने नगरिएको उनको भनाइ छ । उनले भने, ‘हामीले विद्यालयले पठाएको मूल्यांकनलाई नै प्रमाणीकरण गरेकोले जीपीए छुट्याएर विश्लेषण गर्न बोर्डले आवश्यक ठानेन ।’ परीक्षाको नतिजा हेर्नका लागि बोर्डको वेबसाइट, एसएमएस र आईभीआरको प्रयोग गर्न सकिने बोर्डले जनाएको छ ।
बोर्डले २०७७ सालको नियमित तथा ग्रेडवृद्धि परीक्षाको नतिजा इजी सर्भिस प्रालिबाट ३४९४९ आकाश टेक प्रालिबाट ३१००३ र जानकी टेक्नोलोजी प्रालि मार्फत् ३५००१ मा एसएमएस गरेर हेर्न सक्ने र नेपाल टेलिकममार्फत १६०० एनसेलबाट १६०० मा एसएमएस गरेर थाहा पाउन सक्ने व्यवस्था मिलाएको छ । यसैगरी, विद्याार्थीहरुले नेपाल टेलिकम, द कन्सेपट प्लस, एडुसञ्जाल, नेपाल टेलिकम, ईकान्तिपुर र एनसेलको वेबसाइटबाट पनि नतिजा थाहा पाउन सक्ने बोर्डको भनाइ छ ।