इटहरीः राष्ट्रिय परीक्षा बोर्डमार्फत् सञ्चालन हुने कक्षा १२ को परीक्षा सुरु नहुँदै स्थगित भएको छ ।

आगामी साउन ३१ गतेदेखि सुरु हुने तय भएको परीक्षा स्थगित स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सिफारिसका आधारमा कोभिड संकट व्यवस्थापन केन्द्र सीसीएमसीले पत्राचार गरेपछि स्थगित गरिएको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव रामप्रसाद थपलियाले जानकारी दिए । उनका अनुसार भदौ ९ गते सम्पन्न गर्ने तयारी गरिएको परीक्षा आज बसेको बोर्डको बैठकले स्थगित गरेको हो । देशभर कोरोना संक्रमणको विस्तार दर बढिरहेको र विद्यार्थी संगठन तथा अभिभावकले परीक्षा स्थगित गर्नुपर्ने माग गरेपछि परीक्षा स्थगित गरिएको जनाउँदै सचिव थपलियाले आगामी परीक्षाको मिति पछि तय गरिने जानकारी दिए । उनका अनुसार परीक्षा सुरु हुनुभन्दा १५ दिनअघि तालिका सार्वजनिक गरिनेछ ।

स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले परीक्षा स्थगनका लागि हिजो मात्र सीसीएमसीलाई सिफारिस गरेका थिए । सोही सिफारिस बमोजिम सीसीएमसीले पत्राचार गरेपछि बोर्डले परीक्षा स्थगित गरेको हो । यसअघि मन्त्री श्रेष्ठले परीक्षा स्थगित गर्नुपर्ने बताएपनि बोर्डले परीक्षा सम्पन्न गरिछोड्ने भन्दै तयारी तिव्र पारेको थियो । गत वर्ष ४० प्रतिशत अङ्कका लागि मात्र परीक्षा सञ्चालन गरी बाँकी आन्तरिक मूल्याङ्कनबाट परिणाम प्रकाशित गरेको बोर्ड यस वर्ष भने १०० पूर्णाङ्ककै परीक्षा लिखित रुपमा लिने तयारीमा थियो । २५ जनासम्म मात्र परीक्षार्थी एउटा कोठामा रहने र परीक्षाअघि नै पीसीआर तथा परीक्षा केन्द्रमा तापक्रम जाँच गर्ने व्यवस्थाका साथै हेल्थ डेस्क राखेर परीक्षा सम्पन्न गर्ने बोर्डको तयारी थियो । बोर्डले निर्धारण गरेका चार हजार तीन सय १० परीक्षा केन्द्रमा देशभरका तीन लाख ७२ हजार तीन सय ४८ परीक्षार्थीले कक्षा १२ को परीक्षा दिने तयारी थियो ।