इटहरीः मोरङको कटहरीस्थित एउटा मन्दिरमा गएराति एक युवकको शव फेला परेको छ ।
मृत फेला पर्नेमा कटहरी गाउँपालिका–५ का ३० वर्षीय शिवरतन मुडियारी रहेको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) नवीनराज राईले जानकारी दिए । उनका अनुसार स्थानीय रामजानकी मन्दिरमा मुडियारी सुतेकै स्थानमा गएराति करिब १०ः०० बजे मृत भेटिएका हुन् । शव देखेपछि पूजारीले प्रहरीलाई खबर गरेका थिए । घटनाबारे जानकारी पाएलगत्तै घटनास्थलमा परिचालित प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको छ ।
प्रारम्भिक अनुसन्धानबाट मृतक मुडियारी हिजो दिउँसो २ः०० बजे मन्दिरमा आएर सुतेको देखिएको प्रहरीको भनाइ छ । घटनालाई शंकास्पद मान्न सकिने प्रमाण हालसम्म फेला नपरेको जनाउँदै प्रहरीले मृत्युको कारण भने पोस्टमार्टमको रिपोर्टपछि मात्र पत्ता लाग्ने प्रष्ट पारेको छ ।