इटहरीः मोरङको उर्लाबारी नगरपालिकाकी उपमेयर लक्ष्मीदेवी भण्डारीलाई सामाजिक सञ्जाल फेसबुकमा गालीगलौज गरेको आरोपमा एक युवकलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा उर्लाबारी–४ का ३३ वर्षीय युवराज खरेल रहेको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) नवीनराज राईका अनुसार अभियुक्त खरेलउपर फेसबुकमा उपमेयर भण्डारीको फोटो राखी अश्लिल गालीगलौजयुक्त स्टाटस पोस्ट गरेको आरोप छ । उपमेयर भण्डारीको किटानी जाहेरीका आधारमा इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रमुख प्रहरी निरीक्षक राजाराम खड्का नेतृत्वको टोलीले अभियुक्त खरेललाई पक्राउ गरेको एसपी राईले बताए । अभियुक्त खरेलउपर अभद्र व्यवहार मुद्दामा कारबाहीका लागि जिल्ला प्रशासन कार्यालयबाट म्याद थप गरी अनुसन्धान सुरु गरिएको एसपी राईका भनाइ छ ।

श्रीमतिसँग वादविवाद भई सोको न्यायिक निरुपणका लागि न्यायिक समितिमा पुगेका खरेल र उनकी श्रीमति दुवैलाई मेलमिलाप गराउन न्यायिक समितिले पटक पटक प्रयास गर्दा पनि मेलमिलाप गर्न दुवै पक्ष तयार नभएपछि उनीहरुबीच सम्बन्धविच्छेद भएको उपमेयर भण्डारीले बताइन् । सम्बन्धविच्छेदपछि अभियुक्त खरेलले आफूमाथि सार्वजनिकस्थलमा गालीगलौज गरी हैरानी दिन थालेको उपमेयर भण्डारीको आरोप छ ।