इटहरीः कोरोना महामारी साम्य नहुँदै राष्ट्रिय परीक्षा बोर्डले भौतिक उपस्थितिमा नै कक्षा १२ को अन्तिम परीक्षा गर्ने घोषणा गरेको छ ।

तर, विद्यार्थीहरुले भने स्वास्थ्य सुरक्षाका मापदण्ड र खोप नदिएसम्म परीक्षा सञ्चालन गरे आफूहरुलाई प्रभाव पर्ने भन्दै आपत्ति जनाउन थालेका छन् । आगामी साउन ३१ गतेबाट बोर्डले भौतिक उपस्थितिमा नै कक्षा १२ को परीक्षा सञ्चालन गर्ने भएको हो । सोही विषयलाई लिएर नेपालका अर्बपति तथा राजनीतिज्ञ विनोद चौधरी, सञ्चारकर्मी रवि लामिछाने, उपन्यासकार सुवीन भट्टराई ताथ हास्यव्यङ्ग कलाकार आदर्श मिश्र लगायतले सामाजिक सञ्जालमा पोष्ट गर्दै उक्त परीक्षा रद्द गर्न माग गरेका छन् । यता सुनसरीको इटहरीका सरकारी तथा निजी विद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरुले पनि बोर्डले गर्ने भनेको परीक्षाप्रति आपत्ति जनाएका छन् । दुई साता पहिलासम्म इटहरीसहित प्रदेश १ मा नै कोरोना संक्रमितको संख्या न्यून थियो । तर, अहिले कोरोना संक्रमितको संख्या बढ्दै जान थालेको छ । कोरोनाको संक्रमण सामान्य हुँदा परीक्षा नगराएको तर अहिले संक्रमण बढेको समयमा परीक्षा गर्दा आफूहरुलाई प्रभाव पर्ने विद्यार्थीहरु बताउँछन् । सरकारले आफूहरुलाई परीक्षा केन्द्रमा स्वास्थ्य सुरक्षाको प्रत्याभूति र अनिवार्य खोपको व्यवस्थ गर्नुपर्ने विद्यार्थीको माग छ ।

studentd_For_taking_admitcard

‘सुरुमा १२ को परीक्षा हुने भन्दा कोरोना थोरै थियो । त्यतिबेला परीक्षा रोकियो’, राष्ट्रिय माध्यमिक विद्यालयमा कक्षा १२ मा पढ्ने छात्रा निशाना बास्तोलाले भनिन्, ‘अहिले कोरोना पनि बढ्दै छ । हाम्रो परीक्षा पनि हुँदैछ । न हामीलाई खोप छ । कलेजहरुले हामीलाई खोपको व्यवस्था गरिदिनुपर्छ ।’ उनले थपिन् ‘यो बेला धेरै कोरोना छ । यसबेला हामीले कसरी परीक्षा दिने ? बरु अनलाइन परीक्षा भए हामीलाई सजिलो हुन ेथियो ।’ उनको जस्तै गुनासो छ इटहरीकै कस्तुरी कलेजमा कक्षा १२ मा पढ्ने निश्चल पौडेलको पनि । उनले पनि विद्यार्थीलाई प्राथमिकतामा राखेर खोप वितरण गर्नुपर्ने माग गरेका छन् । ‘सरकारले विद्यार्थीलाई प्राथमिकतामा राखेर खोप वितरण गरिदिए साह्रै राम्रो हुन्थ्यो’, उनले भने, ‘सरकारले खोप ल्याउन पनि सक्ने होइन । विद्यार्थीलाई खोप दिएर परीक्षाका लागि सहज वातावरण बनाइदिए हुन्थ्यो ।’

अहिले इटहरीमा विभिन्न उमेर समूह तथा पेसाकर्मीलाई खोपको व्यवस्था गरिएको छ । तर, सरकारले निर्धारण गरेको खोपको प्राथमिकतामा विद्यार्थीहरु भने परेका छैनन् । एक सातापछि हुन लागेको कक्षा १२ को परीक्षामा सहभागी हुने कुनै पनि विद्यार्थीले खोप पाएका छैनन् । यसले परीक्षा केन्द्रबाट नै कोरोना सर्ने डर पैदा भएको छ । तर विद्यालयहरुले भने विद्यार्थीको स्वास्थ्य सुरक्षा आफ्नो सर्वोपरि विषय रहेकाले त्यसमा चनाखो भएर जोडतोडका साथ लागेको बताएका छन् । बिहीबार राष्ट्रिय परीक्षा बोर्डले गराएको अनलाइन प्रशिक्षणमा बोर्डका अध्यक्ष प्राध्यापक डाक्टर चन्द्रमणी पौडेलले गरेको निर्देशन बमोजिम विद्यार्थीको अनिवार्य कोरोना परीक्षण, परीक्षा केन्द्रमा स्वास्थ्य परीक्षण, मास्क तथा स्यानिटाइजरको अनिवार्य प्रयोग, विद्यार्थीलाई एक बेन्च एक विद्यार्थी प्रणाली र कोरोनाको शंका लागेकालाई छुटै परीक्षा हल वा छुटै्टै समयमा परीक्षा गराइने राष्ट्रिय माध्यमिक विद्यालय इटहरीका प्रधानाध्यापक शरणकुमार बस्नेतले जानकारी दिए ।

12class_admitcard_received_By_students

‘बिहीबार राष्ट्रिय परिक्षा बोर्डले प्रदेश १ का सम्पूर्ण विद्यालयका प्रधानाध्यापकसँग एउटा छलफल गरेको थियो । त्यो छलफमा स्वास्थ्य सुरक्षालाई पहिलो प्राथमिकतामा राख्न भनिएको छ’, उनले भने, ‘त्यसको लागि हामीले विद्यालयमा पनि स्वास्थ्य सुरक्षाको प्रत्याभूति गराउन एक जनालाई स्वास्थ्य फोकल पर्सन नै तोकेका छौँ । अनि हामीले एसएमएस प्रणालीलाई पनि कार्यान्वय गराउन लागिपरेका छौँ ।’ विद्यालयहरुले शतप्रतिशत स्वास्थ्य सुरक्षाका साथ परीक्षा गराउने दाबी गरे पनि विद्यार्थी भने विश्वस्त छैनन् । विद्यार्थीहरुले भौतिक उपस्थितिमा हुने परीक्षाको सट्टा वैकल्पिक रुपमा अनलाइन परीक्षा गराउन माग गरेका छन् ।