इटहरीः स्वास्थ्य तथा जनसंंख्या मन्त्रालयले देशभरका विद्यालयदेखि विश्वविद्यालयसम्म जारी रहेका र सुरु हुने तयारीमा रहेका सबै परीक्षा स्थगित गर्न कोभिड संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) समक्ष सिफारिस गरेको छ ।

कोरोना भाइरसको संक्रमण हालसम्म नियन्त्रणमा नआएको र जमघटजन्य गतिविधिबाट संक्रमणको व्यापक विस्तार हुने हुँदा परीक्षा स्थगित गर्न सिफारिस गरिएको स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले बताए । उनका अनुसार देशभर साढे चार लाख विद्यार्थी परीक्षाको तयारीमा रहेको र समूहगत रुपमा परीक्षा गराउँदा संक्रमणको जोखिम उच्च हुने भएकाले विद्यार्थीको स्वास्थ्यलाई ख्याल गर्दै मन्त्रालयले परीक्षा स्थगनको सिफारिस गरेको हो । राष्ट्रिय परीक्षा बोर्डमार्फत् सञ्चालन हुने कक्षा साउन ३१ गतेदेखि सञ्चालन गर्ने शिक्षा मन्त्रालयको तयारी रहेकोमा स्वास्थ्य मन्त्रालयले भने परीक्षा रोक्ने सिफारिस गरिदिएको हो ।

समाजशास्त्र विषयका स्नातकोत्तर तहको तेस्रो सेमेस्टरका विद्यार्थीले हाल जारी रहेको परीक्षा स्थगित गर्न माग गर्दै प्रदर्शन गरेका छन् । खोप सुनिश्चित गरेर मात्र परीक्षा सञ्चालन गरिनुपर्ने उनीहरुको माग छ ।