इटहरीः मोरङको सुन्दरहरैँचानगरपालिका वडा नम्बर ४ बलियाका नवीन दाहालले २०७६ साल चैत महिनामा रोपेको ड्रागन फ्रुट अहिले फुल्न र फल्न थालेका छन् ।

यहाँ रहेको ११ कट्ठा जमिनमा उनले झण्डै डेढ वर्षअगाडि लगाएको ड्रागन फ्रुटले अहिले उत्पादन दिन थालेको उनी सुनाउँछन् । जन्म घर धनकुटा भएका उनको पेसा नै कृषि थियो । परम्परागत रुपमा गर्दै आएको निर्वाहमुखी कृषि कार्यलाई व्यावसायिक कृषिमा रुपान्तरण गर्नुपर्छ भन्ने सोचका उनी अहिले मैदानमा उत्रिएका छन् । थोरै जग्गामा अधिकतम प्रतिफल कसरी पाउन सकिन्छ भनेर खोज्दै जाँदा ड्रागन फ्रुट उत्तम विकल्प ठानेर व्यावसायिक खेति सुरु गरेको उनी सुनाउँछन् । उनले सात सय वटा पोलमा प्रतिपोल चार वटाका दरले दुई हजार सात सय वटा ड्रागन फ्रुट लगाएको जानकारी दिए । तीमध्ये अधिकांशले अहिले उत्पादन दिइरहेका छन् भने झण्डै चार सय हाराहारीका बिरुवा हुर्कँदै छन् ।

ती बिरुवाबाट पनि चाँडै उत्पादन पाउनेमा उनी विश्वस्त छन् । ड्रागन फ्रुटसँगै उनले यहाँ अन्य फलफूलका विरुवा पनि लगाउने बताएका छन् । यस्तै, कालिज, , कुखुरा र बट्टाई पनि पालन गरेको उनले जानकारी दिएका छन् । अन्यमा भन्दा ड्रागन फ्रुटमा आफ्नो विशेष लगाव रहेको उनको भनाइ छ । पहिलो पटक ड्रागन फ्रुट फल्दा आफ्नो खुसीको सीमा नै नरहेको उनले सुनाए । ड्रागन फ्रुट एक मूल्यवान र औषधीय गुणले युक्त फल हो । यो बाहिर सेतो र भित्र रातो, बाहिर रातो र भित्र सेतो तथा बाहिर र भित्र दुवै रातो गरी तीन प्रकारको हुन्छ । उनीसँग भएको चाहिँ बाहिर र भित्र दुवै रातो भएको हो । जुन अन्य भन्दा महँगो र राम्रो मानिन्छ । यो फल प्रतिकेजी सात सय रुपैयाँमा आफूले बिक्री गर्दै आएपनि बजारमा प्रतिकेजी एक हजार दुई सय रुपैयाँसम्ममा बेचेको पाइएको उनले बताए ।

यसको फल मात्र होइन, बिरुवाबाट पनि आम्दानी गर्न सकिन्छ । अहिले उनले प्रतिगोटा दुई सयका दरले बिरुवासमेत बिक्री गरिरहेका छन् । आफू कृषिलाई व्यवसायीकरण गर्न लागेपनि सरकारले आवश्यक ध्यान दिन नसकेको उनको गुनासो छ । नेता तथा सरकारका नजिकका मानिसको सरकारको अनुदान कार्यक्रममा हालिमुहाली भएकाले वास्तविक किसान उपेक्षामा परेको उनी बताउँछन् ।