इटहरीः यो वर्षको तीजलाई लक्षित गरेर गायक तथा सँगीतकार सुवर्ण कुमार श्रेष्ठ र गायिका दीपा कोइरालाले युगल स्वरमा नयाँ तीज भाका छमछम छमछम नाच बरी लै... बजारमा ल्याएका छन् ।

यो गीतमा शब्द संगीत र संगीत सँयोजना पनि सुवर्ण कुमारकै रहेको छ । यो गीतमा सुवर्ण र दीपालाई स्वरमा विष्णु श्रेष्ठ र रञ्जु मगरले पनि साथ दिएका छन् । गीत नृत्यप्रधान बनेको छ । यसपटकको तीजमा यो गीतले तीज गीत प्रेमीलाई नचाउने विश्वास यी गायक गायिकाको रहेको छ । यो तीज भाकाको भिडियोलाई भिडियो क्राफ्ट नेपालको युट्युब च्यानलबाट रिलिज गरिएको छ । यो गीतको भिडियोमा गायिका दीपा कोइरालासहित मञ्जुला गिरी, सविता कार्की, रफ्तार पौडेल, केशव बीसी, प्रवेश पौडेल मुख्य भूमिकामा छन् ।

नृत्य कलाकारका रुपमा सुष्मिता श्रेष्ठ, सुष्मिता कार्की, रञ्जु मगर, भावना पौडेललगायत रहेका छन् । सरस्वति श्रेष्ठ निर्माता रहेको यो गीतको भिडियोलाई सुवर्ण कुमारले नै छायांकन र सम्पादन गरेका हुन् । यो गीतको भिडियोलाई जीवन थापाले निर्देशन गरेका हुन् । यतिबेला यो तीज भाका र यसको भिडियोले दर्शकबाट राम्रो प्रतिक्रिया पाएको यसका गायक संगीतकार सुवर्ण कुमारले बताएका छन् ।