इटहरीः सुनसरीलगायत प्रदेश १ का विभिन्न जिल्लामा निर्माण कार्यको लागि आवश्यक इट्टा अभाव हुन थालेको छ ।

कोरोना भाइरस (कोभिड–१९) को संक्रमणका कारण इट्टा उद्योगहरुमा मजदुरको अभावका कारण प्रदेशमा इट्टा अभाव हुन थालेको हो । नेपालका इट्टा उद्योगहरुका अधिकांश भारतीय मजदुरहरुले काम गर्ने गरेका छन् तर, कोरोना महामारीले भारतीय मजदुरलाई नेपाल प्रवेशमा अनुमति नदिँदा माग र आवश्यकता अनुसारको इट्टा उत्पादन गर्न सकस परेको इट्टा उद्योगीहरु बताउँछन् । आवश्यकता बमोजिम इट्टा उत्पादन नहुँदा मूल्यसमेत आकाशिएको छ । प्रदेश १ का एक सयभन्दा बढी इट्टा उद्योगहरुमा भारतको पश्चिम बङ्गालको कुची बिहारका मजदुर आउने गरेको नेपाल इट्टा उद्योग महासंघका प्रदेश १ संयोजक खगेन्द्र श्रेष्ठले जानकारी दिए ।

itta_udhwyog_khanar1111

भारतबाट ति उद्योगहरुमा दश हजारको हाराहारीमा मजदुरले काम गर्ने गरेको तर कोरोना भाइरसका कारण ति मजदुरहरु आउन नसक्दा इट्टा उत्पादनमा कठिनाइ भएको उनले जानकारी दिए । अहिले प्रदेश १ मा विभिन्न भौतिक विकासको काम भइरहेको र त्यसको लागि इट्टा अत्याधिक माग भएकाले सरकारले आवश्यक मापदण्ड तयार गरेर भारतीय मजदुरलाई नेपाल ल्यान प्रयास थाल्नुपर्ने उनको माग छ । एक सर्वेक्षणका अनुसार प्रदेश १ को सुनसरी र मोरङमा मात्र ७५ वटा इट्टा उद्योगहरु सञ्चालनमा रहेका छन् ।

Bhawan_Nirman_Itahari

यसरी आवश्यकता अनुसारको इट्टा नहुँदा निर्माण व्यवसायीलाई समेत सास्ति हुँदै आएको छ । अहिले अत्याधिक कामको चाप भए पनि इट्टा अभावका कारण तोकेको समयमा काम गर्न नसेको इटहरीका घर निर्माण ठेकेदार साजन राईले बताए । घर निर्माण मात्र होइन, सार्वजनिक सभाहलहरु, कल्भर्ट तथा स्थानीयस्तरमा निर्माण भइरहेको स्वास्थ्य केन्द्रहरु समेत इट्टा अभावका कारण प्रभावित वनेको छ ।