इटहरीः आजदेखि देशभर कोरोना भाइरस विरुद्धको चिनियाँ खोप भेरोसेलको दोस्रो मात्रा वितरण सुरु हुँदैछ ।

असार २९ गतेदेखि सुरु गरिएको खोप अभियानका क्रममा पहिलो मात्रा लिएका ५५ वर्षभन्दा माथि उमेर समूहका सर्वसाधारणले आजदेखि दोस्रो मात्रा लगाउन पाउने भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतको स्वास्थ्य सेवा विभागबाट जारी निर्देशन अनुसार देशभरका सबै ७७ ओटा जिल्ला स्वास्थ्य कार्याालयहरुले आ आफ्नो जिल्लामा खोप वितरणको कार्य सञ्चालन गर्नेछन् । “२०७८ साल असार २९ गतेदेखि सञ्चालन गरिएको खोप अभियानमा ५५ वर्ष वा सोभन्दा माथिका व्यक्तिहरूलाई भेरोसेल खोप पहिलो मात्रा प्रदान गरिएकोमा पहिलो मात्रा खोप पाएको २१ दिन पुगेका सबै व्यक्तिलाई दोस्रो मात्रा खोप दिने गरी २०७८ साउन २२ गतेदेखि देशभरि खोप अभियान सञ्चालन गर्ने,” विभागको परिपत्रमा भनिएको छ ।

५५ वर्षभन्दा माथिको उमेर समूहका सर्वसाधारणका अतिरिक्त अत्यावश्यक सेवाका कर्मचारी तथा वैदेशिक रोजगारीका लागि जान लागेका सर्वसाधारणले पनि खोप पाउनेछन् । यसका लागि छुट्टै खोप केन्द्रको व्यवस्था गरिने विभागले जनाएको छ । आगामी असोजसम्म करिब दुई करोड डोज कोरोना विरुद्धको खोप आयात गर्ने सरकारी योजना छ । योजना अनुसार असोज मसान्तसम्म एक करोड ८३ लाख ८२ हजार आठ सय ५० जनालाई खोप वितरण गरिनेछ भने चैत मसान्तसम्म सबै नेपालीले खोप पाइसक्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।