इटहरीः खोटाङ सेवा समाज युकेद्वारा खोटाङ जिल्ला कोभिड अस्पताललाई स्वास्थ्य सामग्री हस्तान्तरण भर्चुअल कार्यक्रमको माध्यमबाट खोटाङ सेवा समाज युकेका अध्यक्ष डा.प्रमोद कोयी राईबाट खोटाङका प्रमुख जिल्ला अधिकारी मित्रलाल शर्मा र जिल्ला स्वास्थ्य प्रमुख पुण्यप्रसाद सिग्देलको रोहबरमा खोटाङ जिल्ला कोभिड अस्पताललाई कोभिड – १९ रोकथाम र उपचारका स्वास्थ्य सामग्रीहरु हस्तान्तरण गरिएको छ ।

संस्थाका अध्यक्ष डा. कोयीको नेतृत्व तथा सम्पूर्ण कार्यसमितिको संस्थागत सक्रियतामा संचालन गरिएको “अक्सिजन पठाउ आफन्तको ज्यान वचाउ” अभियानले पहिलो चरणमा थरमल गन, कन्सनट्रेटर मेसिन, पल्स अक्सीमिटर, इन्ट्यूवेसन सेट, अक्सिजन माक्स्, सक्सन ट्यूव, गाइड्लर एरवेज, थ्रिवएज अक्सिजन कारमेला र दोस्रो चरणमा पोर्टेवल एक्सरे मेसिन, प्यासेन मनिटर, स्टाण्ड माउन्टेड र एन्टिजेन टेस्ट कीट गरी जम्मा चौबीस लाख साठी हजार दुई सय रुपैयाँ बराबरको स्वास्थ्य सामग्री खोटाङ जिल्लाभरिका सर्वसाधारणका लागि हस्तान्तरण गरिएको हो । पहिलो चरणको स्वास्थ सामाग्रीहरु भने खोटाङ जिल्लाका दसवटै पालिकाहरुका स्वास्थ प्रमुख र जनप्रतिनिधिहरूको रोहबरमा हस्तान्तरण गरिएको हो ।

IMG-20210802-WA0000

संस्थाका अध्यक्ष डा. कोयीले जिल्लाभरिका कोभिडका गम्भीर बिरामीहरू कोभिड जिल्ला अस्पताल खोटाङमा नै उपचार गर्न आउनुपर्ने हुँदा सबै कोभिडका बिमारीहरुले संस्थाद्वारा प्रदान गरिएको स्वास्थ्य सामग्री सही ढंगले उपयोग गर्न अवसर मिलोस् भन्ने उद्देश्यका साथ संस्थाको निर्णय बमोजिम दोस्रो चरणको स्वास्थ सामग्री जिल्ला अस्पताललाई हस्तान्तरण गरिएको जानकारी गराएका थिए । खोटाङ सेवा समाज युके संस्था खोटाङ जिल्लाभरिका जनताहरूका समस्या र पीडामा मलम बनेर सेवा दिने उद्देश्यले स्थापना गरिएको विशुद्ध सामाजिक संस्था हो । सम्वन्धित निकायले जिल्लाभरिका जनताको पीडा कम गर्न सहयोग गर्ने अपेक्षा गर्दै प्रमुख जिल्ला अधिकारी शर्मा, जिल्ला स्वास्थ्य प्रमुख डा.सिग्देल र जिल्लाका डा. वैभव मलिकसमक्ष संस्थाका अध्यक्ष डा. कोयी, सल्लाहकार निवर्तमान अध्यक्ष रत्न राई, उपाध्यक्ष भाग्यवति राई, उपाध्यक्ष प्रसाद राई लगायतले अनुरोध गरेका थिए ।