इटहरीः साताको दास्रो दिनको कारोबारबाट शेयर बजार परिसूचक नेप्सेमा दिनभरको उत्तरचढावका बीच सामान्य अङ्कले वृद्धि भएको छ ।
बजारको माग र बिक्रीकर्ताको चापका कारण परिसूचक ३१०० अङ्कमा पुगेर कारोबारको अन्तिम समयमा भने ३०८५ दशमलव ०७ मा कायम भयो । सोमबारको नेप्से परिसूचक आइतबारको तुलनामा ४ दशमलव ०६ अङ्कले बढेको हो । नेप्सेको उतारचढाव जनाउने सेन्सेटिभ इन्डेक्स भने शून्य दशमलव १८ अङ्कले बढेको छ । बजारमा २ सय २६ कम्पनीका १ लाख ५ हजार कारोबारबाट १० अर्ब ९८ करोड ३५ लाख ९९ हजार रुपैयाँ बराबरका २ करोड १८ लाख ९४ हजार कित्ता शेयर खरिद बिक्री भएका छन् । सोमबार २ वटा कम्पनीको कारोबारमा भने सर्किट लागेको थियो । यसरी सर्किट लेभलका कारोबार हुने कम्पनीमा घलेम्दी हाइड्रो र ग्रामिण विकास लघुवित्त कम्पनी छन् ।
यी दुवै कम्पनीको शेयर मूल्यमा सोमबार एकैदिन १० प्रतिशतको वृद्धि भएको छ । यसैगरी, युनिभर्सल पावर कम्पनी, आँसुखोला पावर कम्पनी र फस्र्ट माइक्रो फाइनान्सको सेयर मूल्य पनि ८ प्रतिशतले बढीमा कारोबार भएको छ । समुहगत रुपमा भने यो दिन ८ समूहको शेयर ओरालो लागेको छ भने ५ कम्पनीको शेयरमा हरियाली छ । नेप्सेमा १३ समुहका कम्पनी वर्गीकरण गरिएका छन् ।