धरानः सुनसरीको धरानस्थित सर्दु खोला उत्खनन् भइरहेको ठाउँमा पुगेर रोक्न प्रयास गर्दै हातपात गर्ने हर्क साम्पाङ नेतृत्वको टोलीमाथि उल्टै आक्रमण भएको छ ।

सामाजिक अभियन्ता हर्क साम्पाङको निर्देशनमा सुनसरीको धरानस्थित सर्दु खोला उत्खनन रोक्न पुगेको टोलीमाथि आक्रमण भएको छ । दुई पक्षबीच भएको आक्रमणबाट आधा दर्जन घाइते भएका छन् । सबैभन्दा बढी धरान ११ का राजेश खिम्दुङ घाइते भएका छन् । आक्रमणबाट उनको टाउको फुटेको छ । घाइते खिम्दुङले स्थानीय जनताले पनि गिट्टी बालुवा निकाल्न पाउनुपर्छ भनेर आवाज उठाउँदा आक्रमण भएको बताए । ठेकेदार पक्षले भने स्काभेटरको अपरेटरलाई कुटेपछि आक्रोशित कामदारहरुले सामान्य रुपमा प्रतिकारमा उत्रिएको दाबी गरेको छ । गाडी र स्काभेटर रोक्दासम्म स्थिति सामान्य रहेकोमा अपरेटरलाई हिर्काएपछि सामान्य हातपात भएको ठेकेदार पक्षको दाबी छ ।

IMG_20210609_173013

 

घटनाको बेला भने हर्क साम्पाङ उपस्थित थिएनन् । साम्पाङले सामाजिक सञ्जाल फेसबुकमार्फत् आफ्ना समर्थकलाई उत्खन्न रोक्न पठाएका थिए । उनको निर्देशनमा केही दिनदेखि सर्दु खोला उत्खनन् रोक्ने प्रयास भइरहेको थियो । सोही क्रममा ७÷८ वटा सवारी साधन प्रयोग गरेर आएको भन्दै धरान ११ मंगलबारे चोकमा प्रहरीले चेकजाँच गर्ने क्रममा साम्पाङ्ग आवेगमा आएर भएको झडपदेखि उनीविरुद्ध पक्राउ पुर्जी जारी भएको र हाल उनी फरार रहेको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ । प्रहरीले घाइते खिम्दुङसहित ४ जनालाई नियन्त्रणमा लिएर प्रहरी कार्यालय लगेको छ । झडपमा परेका स्थानीय तथा मजदुरलाई प्रहरीले नियन्त्रणमा नलिएको र घटनाको आवश्यक अनुसन्धान गर्ने जानकारी दिएको छ ।

IMG_20210609_172936 IMG_20210609_172651