विराटनगरः नोबेल शिक्षण अस्पतालले मोरङको बेलबारी र सुन्दरहरैंचामा स्वास्थ्य शिविर सञ्चालन गरी ७ सयभन्दा बढी बिरामीको निःशुल्क उपचार गरेको छ । बेलबारी–४ कसेनी मावि र सुन्दरहरैंचा–१० खोर्सानेमा शिविर सञ्चालन गरी ७ सय ४७ जना बिरामीको निःशुल्क उपचार गरिएको अस्पतालले जनाएको छ ।

कसेनी माविमा सञ्चालित शिविरमा ४ सय ३५ जना र खोर्सानेमा सञ्चालित शिविरमा ३ सय १२ जना बिरामीको निःशुल्क उपचार गरिएको नोबेल अस्पतालका जनसम्पर्क अधिकृत नारायण दाहालले जानकारी दिए । कसेनीको शिविरमा १ सय ५३ जना बिरामीको भिडियो एक्सरे, १ सय २० जना बिरामीको ल्याब टेष्ट र ४१ जना बिरामीको ईसीजी गर्नुका साथै ६१ जना बिरामीलाई नोबेल अस्पताल रेफर गरिएको बताइएको छ ।

खोर्सानेमा भएको शिविरमा ३५ जनाको भिडियो एक्सरे, १३ जनाको ईसीजी र १ सय १ जनाको ल्याब टेष्ट गरिएको थियो । शिविरमा उपचार सम्भव नभएका २७ जना बिरामीलाई नोबेल अस्पताल रेफर गरिएको दाहालले बताए । शिविरमा मेडिसिन, स्त्री, बाल, नाक, कान, घाँटी, आँखा, दन्त, हाडजोर्नी तथा नसा, छाला र मानसिक लगायतका रोगको उपचार गरिएको थियो ।

नाफामुखीभन्दा पनि सेवामुखी भावले सेवा उपलब्ध गराउँदै आएको नोबेल अस्पतालले ग्रामीण क्षेत्रका विपन्न बिरामीलाई लक्षित गरी निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको अस्पतालका सञ्चालक डा. सुनिल शर्माले जानकारी दिए ।

Sibir-Photo-2 1 Sibir-Photo-4 1