धरानः धरान–१८ स्थित धरान इन्टरनेशनल कलेज अफ होटल म्यानेजमेन्टद्वारा आयोजित साताव्यापी कार्यक्रम अन्तर्गत भएको वक्तृत्वकला प्रतियोगितामा कलेजका एलन श्रेष्ठ पहिलो भएका छन् ।
‘आतिथ्य सत्कारको महत्व’ विषयक प्रतियोगितामा कलेजका ८ जना प्रतिष्पर्धीलाई पछि पार्दै श्रेष्ठ पहिलो भएका हुन् । त्यस्तै, विमला आलेमगर दोस्रो र इशा श्रेष्ठ तेस्रो भए । उनीहरूलाई कार्यक्रमको समापनमा पुरस्कृत गरिने कलेजले जनाएको छ । प्रतियोगिताको निर्णायकहरुमा धरानको पञ्चायत माविका प्रधानाध्यापक उत्तम श्रेष्ठ र अल्फाबिटा कन्सल्टेन्सीका मेनेजर दिनेश थापा रहेका थिए ।
दशैंको बिदाको समयलाई सदुपयोग गर्दै विद्यार्थीको नेतृत्व, क्षमता तथा व्यावहारिक ज्ञानको विकासको लागि साताव्यापी कार्यक्रम गरिएको कलेजका सिइओ लोकेन्द्र श्रेष्ठले बताए । सो प्रतियोगिता भानुचोकको साधना भवनस्थित अल्फाबिटा कन्सलटेन्सीको सभाहलमा गरिएको थियो । प्रतियोगिता शुरु हुनुपूर्व विद्यार्थीलाई धरानको नवयुग होटलको अवलोकन भ्रमणसमेत गराइएको थियो ।
आइतबारदेखि शुरु भएको सप्ताहव्यापी कार्यक्रममा पहिलो दिन विद्यार्थीलाई पर्यटकीय क्षेत्रको सम्भावना बोकेको धरान–२० स्थित चिण्डे डाँडासम्म हाइकिङ गराइएको थियो । यसैगरी, सोमबार धरान–३ स्थित सरस्वती बालआश्रमका विद्यार्थीलाई स्टेशनरी सामग्रीसहित खानेकुरा वितरण गरिएको सिइओ श्रेष्ठले बताए ।