विराटनगरः अपाङ््गता भएका बालबालिकामा मनोबल वृद्धि गर्न समान शिक्षाको अवधारणा अनुरूप एउटै कक्षामा पठनपाठन गराउने तयारी थालिएको छ ।
विराटनगर महानगरपालिकाले अपाङ्गता भएका बालबालिकालाई अन्य बालबालिकासँगै राखेर एउटै कक्षामा पठन–पाठनको सुविधासहितको योजना अगाडि सारेको हो । विराटनगरस्थित आदर्श उच्च माध्यमिक विद्यालयमा आगामी शैक्षिक सत्रदेखि अपाङ्गता भएका बालबालिकालाई अन्य विद्यार्थीसँगै राखेर पढाउनका लागि तयारी थालेको महानगरका प्रमुख भीम पराजुलीले बताए ।
एउटै कक्षाकोठामा राखी पढाउँदा मनोबल वृद्धि हुन सक्ने भएकाले यो अवधारणालाई समान शिक्षाको रूपमा लिइएको बताइएको छ । भारतको दिल्लीस्थित अमरज्योति विद्यालयसँगको साझेदारी र समन्वयमा विराटनगरमा यस्तो शैक्षिक सिकाइ प्रक्रिया गरिने भएको हो ।
महानगरले अमरज्योति विद्यालयबाट आएको प्रतिनिधि मण्डलसँग समेत पहिलो चरणको छलफल गरेर निचोड निकालेको प्रमुख पराजुली बताउँछन् । अमरज्योति विद्यालय समावेशी र समान शिक्षाको क्षेत्रमा उत्कृष्ट विद्यालयको रूपमा चिनिँदै आएको छ ।
सोही विद्यालयको शिक्षण पद्धतिका लागि प्राविधिक सहयोग लिने र आदर्श विद्यालयमा लागू गर्ने योजना रहेको बताइएको छ । विराटनगरमा दुवै विद्यालयका प्राचार्य, महानगरपालिकाका प्रमुख तथा सरोकारवालाबीच भएको छलफलपछि समान शिक्षाको अवधारणा लागू गर्ने निचोड निकालिएको छ ।
दिल्लीस्थित अमरज्योति विद्यालयका प्रिन्सिपल सीमा तुली र सामाजिक उद्यमी विवेक तुलीले शिक्षण सिकाइ विधिबारे प्राविधिक सहयोग गर्ने प्रतिबद्धता गरेको पराजुलीले जनाए ।