विराटनगरः नोबेल मेडिकल कलेज टिचिङ हस्पिटलले नयाँ शैक्षिक सत्रमा भर्ना भएका विद्यार्थीहरूलाई आइतबार अभिमुखीकरण कार्यक्रम गरी स्वागत गरेको छ । कलेजमा भर्ना भएका एमबीबीएस, बीडीएस र बीएस्सी नर्सिङ सङ्कायका नयाँ विद्यार्थीहरूका लागि अभिमुखीकरण कार्यक्रम गरिएको हो ।

कार्यक्रममा नयाँ विद्यार्थीहरूलाई कलेजको बारेमा जानकारी गराउँदै औपचारिक रूपमा स्वागत गरिएको नोबेल मेडिकल कलेजका प्राचार्य डा. रामहरि घिमिरेले जानकारी दिए । कार्यक्रममा नोबेल शिक्षण अस्पतालका प्रमुख कार्यकारी अधिकृत डा. भोगेन्द्रप्रसाद आचार्य, प्राचार्य डा. घिमिरे, कलेजका अन्तर्राष्ट्रिय निर्देशक निरञ्जनकुमार, नायब प्रमुख कार्यकारी अधिकृत डा. विश्वनाथ अधिकारी, शैक्षिक कार्यक्रम संयोजक डिल्लीराम निरौला, प्राध्यापक कमलप्रसाद पराजुली लगायतले कलेजको बारेमा बताउँदै पढाइमा राम्रो मिहिनेत गर्न विद्यार्थीलाई सुझाव दिए ।

नोबेलमा करिब २ हजार विद्यार्थी अध्ययनरत रहेको बताइएको छ । नोबेलमा नेपालका विभिन्न जिल्लासँगै भारत, माल्दिभ्स लगायत देशबाट पनि विद्यार्थीहरू अध्ययनका लागि आउने गरेका छन् ।

Orientation-Program-Photo-5 Orientation-Program-Photo-4