विराटचोकः असल व्यवस्थापकले मात्र देश समृद्ध बनाउनमा सहयोग पुर्याउने त्रिभुवन विश्वविद्यालय व्यवस्थापन सङ्कायका डिन डिल्लीराम शर्माले बताएका छन् ।
सुकुना बहुमुखी क्याम्पस सुन्दरहरंैचाले यसै वर्षदेखि शैक्षिक कार्यक्रम बिबिए सञ्चालन गर्न लागेको छ । सो विषयसम्बन्धी ज्ञान दिने उद्देश्यले आज कलेजले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै डिन शर्माले सो कुरा बताएका हुन् ।
कार्यक्रमका प्रमुख अतिथि शर्माले त्रिभुवन विश्वविद्यालयले पछिल्लो समयमा बजारको आवश्यकतालाई मध्यनजर राख्दै सामुदायिक कलेजमा पनि बिबिएजस्ता व्यावहारिक विषयलाई महत्व दिइएको बताए ।
उद्योग वाणिज्य सङ्घ सुन्दरहरैचाका अध्यक्ष नवराज चापागाईँले पछिल्लो समयमा शिक्षा भनेको प्रमाणपत्र हात पार्ने तथा बेरोजगार उत्पादन गर्नेतर्फ मात्र निर्देशित भइरहेको बताए । कलेजमा थपिन लागेको नयाँ विषयले विद्यार्थीमा व्यावहारिक ज्ञान दिनेमा आशावादी रहेको चापागाईंले बताए ।
सुन्दरहरैंचा नगरपालिकाका कार्यवाहक नगरप्रमुख धनमाया तामाङले क्याम्पसलाई बिबिए सञ्चालनमा आवश्यक पर्ने आर्थिक तथा कानुनी सबैखाले सहयोग गर्न नगरपालिका प्रतिबद्ध रहेको बताइन् ।
प्रदेशसभा सदस्यद्वय राजकुमार ओझा र लयप्रसाद सङ्ग्रौलाले विकास र समृद्धिका मुद्दामा आफूहरू एक रहेको बताउँदै क्याम्पसको विकासमा कटिबद्ध रहेको बताए । सो अवसरमा सरोकारवालाको तर्फबाट विभिन्न व्यक्तिहरूले नयाँ कार्यक्रममा सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए ।
२०४८ सालमा मानविकी सङ्कायबाट पठनपाठन सुरु गरेको सुकुनामा हाल मानविकी, व्यवस्थापन, विज्ञान, आइसिटी लगायतका सङ्कायको अध्यापन भइरहेको क्याम्पस प्रमुख प्रेमप्रसाद भट्टराई बताउँछन् ।
अन्तरक्रिया कार्यक्रममा व्यवस्थापन सङ्कायका सहायक डिन दिनेशमणि घिमिरे, व्यवस्थापन स्कुल अफ म्यानेजमेन्टका प्राडा महानन्द चालिसे, सुन्दरहरैंचा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र भट्टराई सहभागी थिए । त्यस्तै, पूर्व क्याम्पस प्रमुख रामप्रसाद काफ्ले निवर्तमान क्याम्पस प्रमुख पीतकुमार श्रेष्ठ, खदम बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख टेकबहादुर थपलिया लगायत सहभागी थिए ।
क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष देवेन्द्र मास्केको सभापतित्वमा सम्पन्न कार्यक्रमको सञ्चालन उपप्राध्यापक बलराम पोखरेलले गरेका थिए ।