इटहरीः लायन्स क्लब अफ इटहरी सिटीले दृष्टिविहीनलाई सेतो छडी वितरण गरेको छ । आज इनरुवामा आयोजित एक कार्यक्रमका बीच दृष्टि गुमाएका विभिन्न व्यक्तिलाई अतिआवश्यक वस्तु सेतो छडी दिइएको हो ।
अपाङ्गता कार्यसमिति इनरुवामा आबद्ध भएका १६ जनालाई आज सेतो छडी वितरण गरिएको हो । ती छडी अमेरिकाको क्यालिफोर्नियास्थित फो सी टु डिस्ट्रिक गभर्नर रजिन थापासहित अन्य लायन्स सदस्यहरूले वितरण गरेका थिए ।
अपाङ्गता कार्यसमितिका अध्यक्ष शम्भुप्रसाद भट्टराईले फरक क्षमता भएका व्यक्तिलाई लायन्स क्लबले गरेको सहयोगप्रति कृतज्ञता व्यक्त गरे । आफूले अन्य बेला सहयोग माग्दा पनि नपाएको तर लायन्सले आफँै खोजेर सहयोग गरेको भन्दै इटहरी सिटीका अध्यक्ष जीवन पराजुलीलाई उनले धन्यवाद पनि दिए ।
उनले जाडोका बेला आवश्यक पर्ने न्यानो कपडाको आवश्यकता रहेको भन्दै फरक क्षमता भएका विपन्न समुदायका व्यक्तिलाई त्यस्ता कपडाको आवश्यकता रहेका औँल्याए ।
जाडो अगावै न्यानो कपडा र ह्वील चेयर दिइने
अध्यक्ष पराजुलीले जाडोअगावै न्यानो कपडा पनि दिइने बताए । त्यस्तै, २ वटा ह्वील चेयर पनि संस्थाको तर्फबाट दिइने प्रतिबद्धता पराजुलीले गरेका थिए ।
अमेरिकाको क्यालिफोर्नियास्थित सी टु डिस्ट्रिक गभर्नर रजिन थापाले सामाजिक कार्यमा सहभागी बन्न सबैलाई प्रेरणा मिलोस् भनेर सामाजिक काम गरेको बताए । सबैले मिलेर सानो सहयोग गरे पनि अप्ठ्यारोमा परेकाले सहज जीवन बिताउन सक्ने उनको भनाइ थियो । दृष्टि गुमाएकाहरूको समस्यालाई आफूले नजिकबाट चिनेको बताउँदै यसै क्षेत्रमा लामो समयदेखि काम गरेको र सहयोग गर्न इच्छुक रहेको उनको भनाइ थियो ।