ताप्लेजुङः जिल्लाका विभिन्न स्थानमा हिमपात भएको छ । हिजोदेखि भएको हिमपातबाट जनजीवन प्रभावित भएको छ ।

मङ्गलबार दिउँसोदेखि रातभरि हिमपात भएकाले घुन्सा गाउँका स्थानीय पेमा शेर्पाले जानकारी दिए । ‘शुक्रबारदेखि निरन्तर हिमपात भइरहेको छ । अहिले करिब एक फिटसम्म हिउँ जमेको छ,’ शेर्पाले भने । हिउँले पानीका मुहान सबै जमेपछि खानेपानीसमेत समस्या परेको उनले बताए । उनले भने, ‘चिसोका कारण घरबाहिर निस्किन सक्ने अवस्था छैन ।’ पशु चौपायालाई हिउँ अलि कम पर्ने औलतिर झारेको फले निवासी लाक्पा भोटियाले बताए ।

घुन्सागाउँ समुद्र सतहदेखि तीन हजार पाँच सय मिटर उचाइमा पर्दछ । यस्तै समुद्र सतहदेखि तीन हजार दुई सय मिटर उचाइमा ओलाङचुङगोला र समुद्र सतहदेखि चार हजार दुई सय मिटर उचाइमा याङमा गाउँ पर्दछ । सिरिजङ्घा गाउँपालिकाको याम्फुदिनमा हिउँ परेपछि जाडोले बालबालिका, वृद्धवृद्धा र पशु चौपाया बढी प्रभावित भएको स्थानीय कमल राईले बताए । मिक्वाखोला गाउँपालिका पापुङ क्षेत्रमा पनि शुक्रबारदेखि आज रातभरि हिमपात भएको रिङ शेर्पाले बताए । यहाँ आज बिहानको मौसम न्यूनतम तापक्रम ३.५ डिग्री सेल्सियस रहेको हावापानी फिल्ड कार्यालय ताप्लेजुङले जनाएको छ । -रासस