बेलबारीः आज मङ्गलबार बिहान ९ बजेतिर बेलबारी– २ मा अवस्थित अर्किडको कार्यालयमा पुग्दा त्यहाँको वातावरणमा छुट्टै रौनक थियो ।

विजयादशमीको दिन झैं बालबालिकाहरू रातो टीका र जमरामा सजिएका थिए । झट्ट हेर्दा विजयीदशमीको दिनजस्तो लाग्थ्यो । दशैंको सातौं दिन अर्थात् फूलपातीको दिनको दृश्य थियो त्यो ।

विगत लामो समयदेखि बालबालिकाका क्षेत्रमा काम गर्दै आएको अर्किड बेलबारीले कार्यक्रम गरी बालबालिकासँग दशैंको शुभकामना आदानप्रदान गरिरहेको दृश्य थियो त्यो ।

बेलबारी– २ लालभित्तीमा स्थापना भएर लामो समयदेखि बालबालिकाको क्षेत्रमा काम गरिरहेको यस संस्थाले बालबालिकाको स्वास्थ्य र शिक्षाको क्षेत्रमा काम गरिरहेको छ । त्यसो त यसले शिक्षा स्वास्थ्यका अतिरिक्त नेपाली संस्कार र संस्कृतिको जगेर्नामा समेत आफ्नो भूमिका बढाउँदै आएको छ ।

अर्किडको प्राङ्गणमा लालभित्ती र यसका आसपासबाट भेला भएका बालबालिकालाई पनि सोही अनुसार सन्देश दिने अभिप्रायले सो कार्यक्रमको आयोजना भएको थियो ।

कार्यक्रममा भेला भएर सामूहिक रूपमा दशैं मनाउन पाएकोमा बालबालिकाहरू मात्र नभएर अभिभावकहरू पनि खुशी देखिन्थे । आगामी वर्षहरूमा पनि यसरी नै दशैं मनाउन पाइयोस् भन्ने कामना पनि उनीहरू गरिरहेका थिए ।

कार्यक्रममा ९२ वर्षीय स्थानीय जयप्रकाश पोखरेल पनि त्यत्तिकै खुशी देखिन्थे । उनी उमेरको परवाहै नगरी बालबालिकालाई टीका तथा जमरा लगाइदिन व्यस्त थिए । नजिकै रहेर संस्थाका संयोजक रेवती तिवारी दक्षिणा दिन त्यत्तिकै व्यस्त देखिन्थे । बालबालिकाहरू पनि टीका जमरा तथा दक्षिणा पाएकोमा मख्ख देखिन्थे ।

‘हरेक वर्षझैँ यस वर्ष पनि हाम्रो संस्थाले बालबालिका तथा अभिभावकहरूमा दशैंको शुभकामना आदानप्रदान गरेका हौँ’, अर्किड बेलबारीका संयोजक तिवारीले कार्यक्रमको बारेमा प्रष्ट्याउँदै भने ।

कार्यक्रममा अर्किडका बोर्ड सदस्य तिलक लिम्बूले उपस्थित बालबालिका तथा तिनका अभिभावकहरूलाई दशैं, तिहार तथा छठको शुभकामना दिइरहेका थिए ।

समाजसेवी ईश्वरी गुरुङ र स्वास्थ्यकर्मी रेनुका बस्नेत चाडबाडमा खानपानमा ध्यान दिन आग्रह गरिरहेका थिए । संस्थाका बोर्ड सदस्य सुनिता तिवारी हुमागाई तथा शिला पोखरेल पनि अभिभावक तथा बालबालिकामा चाडबाडको महत्वका बारेमा दर्शाउँदै थिए । चाडलाई खर्चिलो र भड्किलो नबनाउन उनीहरू आग्रह गर्दै थिए ।

संस्थाको तर्फबाट मात्र नभएर त्यहाँ उपस्थित बालबालिका तथा तिनका अभिभावकहरूले पनि दशैं, तिहार तथा छठको शुभकामना दिएका थिए ।

पछिल्लो समयमा चाडबाड खर्चिलो र भड्किलो भइरहँदा त्यसको महत्व नै कम भइरहेको बेलामा गरिएको यसप्रकारको कार्यक्रमको विशेष महत्व रहेको अर्किडका संस्थापक नवराज पोखरेलको मत रहेको छ ।

dasai dashai orchid (2)