इटहरीः मोरङको सुन्दरहरैंचा– ७ गोठगाउँमा रहेको नेपाल कम्प्युटर सेन्टर र मितेरी बैंकको गोठगाउँ शाखाले हाजिरीजवाफ प्रतियोगिता गर्ने भएका छन् । दशैंको अवसर पारी भोलि २ संस्थाको आयोजनामा स्कुलस्तरीय हाजिरीजवाफ प्रतियोगिता हुने आयोजकले जनाएका छन् ।
नेपाल कम्प्युटर सेन्टरका सञ्चालक शम्भु राईका अनुसार विद्यार्थीको चौतर्फी विकासको लागि सामान्य ज्ञानको धेरै आवश्यकता पर्ने हुनाले हाजिरीजवाफ प्रतियोगिता सञ्चालन हुन लागेको हो । एकआपसमा दशैंको शुभकामना आदानप्रदान गर्नु पनि कार्यक्रमको मुख्य उद्देश्य रहेको राईले बताए ।
प्रतियोगिता सञ्चालन हुनुअघिसम्म सहभागी टिमको नाम दर्ता गरिने हुनाले प्रतियोगितामा सुन्दरहरैंचा र इटहरीका १२ वटा भन्दा बढी विद्यालय सहभागी हुने आयोजकको अनुमान छ ।
इटहरीको सीबी कलेज र आयुष प्रिन्टिङ प्रेस तथा गोठगाउँका सामाजिक तथा व्यापारिक सङ्घ संस्थाको प्रायोजनमा प्रतियोगिता हुन लागेको हो । प्रतियोगिताका लागि गोठगाउँका नरेश बुक्स एण्ड स्टेशनरी, लालीगुराँस भजनकीर्तन समूह, कार्की हार्डवेयर, बि एण्ड एल स्टोर, विनोद किराना पसल र पाथीभरा टायल्स एण्ड मार्बल सेन्टरले सहयोग गरेको राईले बताए ।
विद्यार्थीबीच पारस्परिक सम्बन्ध बढाउन र गोठगाउँवासीले गरेको कामको सकारात्मक प्रचार हुने विश्वासका कारण आफ्नो संस्थाले कार्यक्रमको प्रायोजन गरेको आयुष प्रिन्टिङ प्रेस इटहरीका सञ्चालक दामोदर आचार्यले बताए ।
प्रतियोगितामा पहिलो, दोस्रो र तेस्रो हुनेलाई प्रमाणपत्र, मेडल, ट्रफी तथा विभिन्न पुरस्कार दिइने आयोजकले जनाएको छ ।
कार्यक्रमलाई आगामी वर्ष पनि निरन्तरता दिइने राईले बताए । उनका अनुसार फूलपातीका दिन ३५ वर्षभन्दा माथिको उमेरका व्यक्तिबीच हाजिरीजवाफ प्रतियोगिता पनि आयोजना हुने छ । ३५ वर्षभन्दा माथिको उमेर समूहको हाजिरीजवाफ दोस्रो पटक हुन लागेको राईले बताए ।