विराटनगरः मोरङ र सुनसरीका ४ स्थानमा नोबेल मेडिकल कलेज टिचिङ हस्पिटलले निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । शिविरबाट २ हजार ५ सय जनाभन्दा बढी बिरामी लाभान्वित भएको अस्पतालले जनाएको छ ।
मोरङको कानेपोखरी, पथरीशनिश्चरे, बेलबारी र सुनसरीको इटहरीमा निःशुल्क शिविर सञ्चालन गरी २ हजार ५ सय ८ जना बिरामीको निःशुल्क उपचार गरिएको अस्पतालले जनाएको छ ।
आइतबार कानेपोखरी–५ रमाइलोमा भएको शिविरमा ५ सय ६५ जना बिरामीले स्वास्थ्य लाभ लिएका थिए । शिविरमा १ सय ५ जनाको भिडियो एक्सरे, ४२ जनाको ईसीजी र ८५ जनाको ल्याब टेष्ट गरिएको नोबेल शिक्षण अस्पतालका जनसम्पर्क अधिकृत नारायण दाहालले बताए । उनका अनुसार शिविरबाट ५८ जना बिरामीलाई थप उपचारका लागि नोबेल अस्पताल रेफर गरिएको छ ।
सोमबार पथरीशनिश्चरे–३ किराती चोकमा भएको शिविरमा ३ सय ७८ जना बिरामी लाभान्वित भए । शिविरमा ६२ जनाको भिडियो एक्सरे, ३१ जनाको ईसीजी र ९० जनाको ल्याब टेष्ट गर्नुका साथै शिविरमा उपचार सम्भव नभएका ६१ जना बिरामीलाई नोबेल रेफर गरिएको बताइएको छ ।
मङ्गलबार इटहरी–४ मा भएको शिविरमा १ हजार १ सय ७२ जना बिरामीले निःशुल्क उपचार गराएका थिए । शिविरमा २ सय ७५ जनाको भिडियो एक्सरे, १ सय १४ जनाको ईसीजी र २ सय २६ जनाको ल्याब टेष्ट गरिएको बताइएको छ ।
बुधबार बेलबारी–४ धिमाल टोलमा भएको शिविरबाट ३ सय ९३ जना बिरामीले निःशुल्क उपचार सेवा लिएको अस्पतालको भनाइ छ । सो शिविरमा ३५ जनाको भिडियो एक्सरे, २१ जनाको ईसीजी र ४३ जनाको ल्याब टेष्ट गरिएको आयोजक नोबेल शिक्षण अस्पतालले जनाएको छ । चारवटै शिविरमा हाडजोर्नी, छाला र आँखासम्बन्धी समस्या भएका बिरामी बढी मात्रामा आएको अस्पताल सञ्चालक सुनिल शर्मा बताउँछन् ।