इटहरीः सुनसरीको इटहरी उपमहानगरपालिका झण्डै आधा कर्मचारीको भरमा चल्दै आएको छ ।

विभिन्न दृष्टिकोणले आर्कषणको केन्द्र बन्दै गरेको इटहरीमा दरबन्दी अनुसार कर्मचारी नहुँदा सेवा प्रवाहमा समस्या हुँदै आएको छ । कुल चार सय १० जनाको दरबन्दी रहेको उपमहानगरमा हाल स्थायी, करार र अस्थायी गरि दुई सय ५१ जना मात्र कर्मचारी रहेका छन् । यसले उपमाहानगरको कार्यालय र उपमहानगरका वडा कार्यालयहरुमा सेवा दिने र सेवा लिनेलाई पनि समस्या हुने गरेको छ । उपमहानगरमै काम गर्न पनि आवश्यक कर्मचारी नहुँदा कार्यभार बढी भएको उपमहानगरका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद सापकोटा स्वीकार गर्छन् । उनले प्रमुख पदहरुमा चाहिने कर्मचारी भए पनि तल्ला तहहरुमा कर्मचारी नहुँदा समस्या हुने गरेको बताएका छन् ।

‘हामी कहाँ कर्मचारी अभाव भएकै हो भन्न चाहिँ मिल्दैन । उपमहानगरका ‘कि पोस्टहरु’मा कर्मचारीहरु हुनुहुन्छ । तर, तल्ला तहका कर्मचारीहरु जस्तैः सफाई कर्मचारी, नगर प्रहरी र अन्य कर्मचारीहरु भने नगरमा अभाव नै भएको हो । यसले नगरको सेवा प्रवाहमा समस्या खासै छैन तर हामीलाई कार्यभार बढी छ’, उनले भने । साथै उनले कर्मचारी पदपूर्तिको लागि नगरले मात्र पहल गर्न नसक्ने भएकाले ढिलाइ भएको बताएका छन् । उनका अनुसार प्रदेश लोक सेवा आयोग र उपमहानगरको समन्वयमा ती कर्मचारी भर्ना हुने छन् ।

कर्मचारी अभाव हुँदा नगरमा खासै प्रभाव नभए पनि वडा कार्यालयहरुमा सेवा प्रवाह गर्न समस्या हुने गरेका छ । अधिकांश वडा कार्यालयहरु वडा सचिव र कम्प्युटर अपरेटरको भरमा चल्दै आएका छन् । उपमहानगरको अभिलेख अुनसार हाल १५९ जना कर्मचारीको अभाव रहेको छ । ती सबै तल्लो तहका कर्मचारी हुन् । हाल उपमहानगरमा स्थायी कर्मचारी १७४ जना, अस्थायी कर्मचारी ५ जना, करारका कर्मचारी ५१ र दैनिक तथा मासिक ज्यालादारीका कर्मचारी २१ जना रहेका छन् ।