धरानः विश्वभर सञ्जाल रहेको बायोइथिक्स दिवस नेपालमा पनि विभिन्न कार्यक्रम आयोजना गरी मङ्गलबार मनाइएको छ । यस वर्षको नारा ‘ऐक्यबद्धता र सहयोग’ रहेको थियो ।
कार्यक्रममा पोस्टर, फिल्म, फोटो आदिको प्रदर्शन गर्नुका साथै विभिन्न चेतनामूलक कार्यक्रम भएका थिए । धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सम्पन्न कार्यक्रममा यस वर्षको अवधारणाबारे प्रष्ट पारिएको थियो । विद्यार्थी, शिक्षक र सम्बन्धित सबै पक्षमा जानकारी दिन र चेतना अभिवृद्धि गर्ने दिशामा यी कार्यक्रम फलदायी हुने आयोजकको भनाइ छ ।
कार्यक्रम वी. पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका शिक्षाध्यक्ष प्रा.डा. गुरुप्रसाद खनालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । कार्यक्रममा बोल्दै खनालले स्वास्थ्य र चिकित्सा शिक्षामा इथिक्सबारे विद्यार्थीकालदेखि नै सचेत हुन यस खालका कदमहरु आवश्यक हुने उल्लेख गरे । यस वर्षको अवधारणाबारे बायोइथिक्स विज्ञ प्रा.डा. रानोमल पिर्यानी र नेपाल युनिटका पूर्व प्रमुख प्रा.डा. रुपा सिंहले आफ्नो धारणा राखेका थिए ।
कार्यक्रमका संयोजक तथा नेपाल युनिटका प्रमुख प्रा.डा. धनरत्न शाक्यले सञ्चालन गरेको अन्तरक्रियात्मक कार्यक्रमका वक्ताहरूमा प्रा.डा. रुपा सिंह, प्रा. समी लामा, डा. सरुण कोइराला, खेमचन्द्र सुवेदी, विद्यार्थी सुमित शर्मा लगायतले आफ्ना धारणा राखेका थिए ।
कार्यक्रममा एकाइका प्रमुख तथा कार्यक्रमका संयोजक प्रा.डा. शाक्यले स्वागत मन्तव्यसहित दिवसको औचित्यबारे प्रष्ट पारेका थिए । कार्यक्रममा भएको फोटो प्रतियोगितामा विवेक आचार्य क्षेत्री, फिल्म प्रतियोगितामा प्रसन्न सुवेदीको समूह, आर्ट पोस्टरमा अभिषेक कुमार तथा निबन्धमा मनिषा श्रेष्ठ उत्कृष्ट भएका थिए ।
यस वर्ष एकाइबाट आयोजित विविध कार्यक्रममा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगायत अन्य मेडिकल कलेजका प्रतिनिधिको सहभागिता रहेको थियो । कार्यक्रमका संयोजक प्रा.डा. धनरत्न शाक्यले बायोइथिक्सबारे छलफल, अध्ययन र मननका यस्ता अवसर र कार्यक्रम नियमित र बिस्तारित हँुदै जाने अपेक्षा गरेको बताए ।