इटहरीः लायन्स क्लब अफ इटहरी ग्रीन सिटीले सोमबार इटहरी–१३ खनारमा १ दिने आँखा शिविर सञ्चालन गरेको छ । लायन्सले ८ अक्टोबरलाई बालबालिकाको लागि समर्पण भन्ने विश्वव्यापी आह्वान गरेबमोजिम सो क्याम्प सञ्चालन गरिएको बताइएको छ ।

उपमहानगरपालिकाभित्रै रहे पनि सरकारको शिक्षा नीतिबाट ओझेलमा परेर दयनीय अवस्थामा रहेको इटहरी–१३ मा रहेको मदनआश्रित निमाविमा शिविर सञ्चालन गरिएको बताइएको छ । शिविरमा १ सय १३ जना बालबालिकाको आँखा जाँच गर्दा तीमध्ये २३ जनालाई चस्माको आवश्यकता पर्ने पाइएको आयोजकले जनाएको छ ।

आयोजकका अनुसार ५ जनालाई विशेष आँखा जाँचको आवश्यकता पर्ने देखिएको छ । डा. प्रियङ्का चौधरीको टिमले शिविरमा आँखा जाँच गरेको र कमजोर दृष्टि भएका बालबालिकालाई चस्माको पनि व्यवस्था गरिने जानकारी क्लबका सचिव अजय अधिकारीले दिएका छन् ।

लायन्स क्लब अफ इटहरी ग्रीन सिटी र इटहरी स्मार्ट सिटीले संयुक्त रूपमा कार्यक्रम आयोजना गरेको थियो । सोही विद्यालयमा वृक्षरोपण गर्ने र डस्बिन वितरण गर्ने योजना रहेको ग्रीन सिटीकी अध्यक्ष निर्मला चौधरीले बताइन् ।

डिस्ट्रिक एरिया क्याबिनेट सेक्रेटरी डा. बालकृष्ण शाहको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो ।

सरकारको शिक्षा नीति र नजरबाट ओझेलमा परेको र गरीब तथा विपन्न वर्गका बालबालिकाहरूले अध्ययन गर्ने यस्ता विद्यालयमा आँखा जाँच शिविर सञ्चालनको अनुमति दिएकोमा उनले विद्यालय परिवारलाई धन्यवाद ज्ञापन गरेका थिए ।
कार्यक्रमको संयोजन लायन्स पशुपति चौधरीले गरेका थिए ।