इटहरीः नेपाल सरकारले आज नेपाल प्रहरीमा कार्यरत ३३ जना प्रहरी वरिष्ठ उपरीक्षकको सरुवा गरेको छ । आज गृह मन्त्रालयमा बसेको बैठकले आइतबारदेखि लागु हुनेगरी ३३ जना प्रहरी वरिष्ठ उपरीक्षकको सरुवा गर्ने निर्णय गरेको मन्त्रालय स्रोतले बताएको छ ।
आजको निर्णयबाट सरुवा हुने प्रहरी वरिष्ठ उपरीक्षकहरुमा अशोक सिंह, किरण बज्राचार्य, किरण राणा, कुबेर कडायत, केदार ढकाललगायत रहेका छन् । प्रहरी प्रधान कार्यालयमा रहेका सिंहलाई महानगरीय प्रहरी परिसर सरुवा गरिएको छ । हाल महानगरीय प्रहरी कार्यालय रानीपोखरीमा रहका बज्राचार्यलाई महानगरीय प्रहरी परिसर ललितपुर पठाइएको छ । यसैगरी, हाल गण्डकी प्रदेश प्रहरी कार्यालय पोखरामा कार्यरत राणालाई कर्णाली प्रदेश प्रहरी तालिम केन्द्र नेपालगञ्ज पुर्याइएको छ ।
यस्तै, हाल प्रहरी प्रधान कार्यालय अन्तर्गतको प्रहरी महानिरीक्षकको सचिवालयमा कार्यरत कडायतको सरुवा नवलपरासीको जर्गाहस्थित प्रहरी युक्ति तालिम केन्द्रमा गरिएको छ । यसैगरी, हाल प्रहरी प्रधान कार्यालयको सामुदायिक प्रहरी महाशाखामा कार्यरत रहेका प्रहरी वरिष्ठ उपरीक्षक ढकालको दरबन्दी धनुषाको जनकपुरस्थित २ नम्बर प्रदेश प्रहरी तालिम केन्द्र कायम गरिएको छ ।