इटहरीःविगतका वर्षहरुमा छठ घाटमा गई अर्घ चढाउँदै आएकी राष्ट्रपति विद्यादेवी भण्डारी यस वर्ष छठ पूजास्थलमा उपस्थित नहुने भएकी छन् ।

विश्वव्यापी कोरोना महामारीका कारण स्वास्थ्य जोखिमलाई मध्यनजर गर्दै राष्ट्रपति भण्डारीले छठ घाटको भ्रमण रद्द गरेकी हुन् । विगतका वर्षहरुमा राष्ट्रपतिले काठमांडौका गुहेश्वरी र कमलपोखरीमा आयोजना हुने छठ पूजामा सहभागी भई अर्घ चढाउने गरेकोमा यस वर्षको कार्यक्रम रद्द गरिएको राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले बताएका छन् । उनले जारी गरेको विज्ञप्तिमा संक्रमणको जोखिमका कारण राष्ट्रपति छठ पूजामा सहभागी नहुने बताइएको छ । नेपालको तराई क्षेत्रमा बसोबास गर्ने मधेशी समुदायले मनाउँदै आएको छठ पर्व हाल देशभर सबै समुदायमा विस्तार भएको छ ।

यस पर्वले साँस्कृतिक एकताको सन्देशसमेत प्रवाह गर्दछ । कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म सूर्यदेवको आराधना, उपासना र पूजा गरी यो पर्व मनाइन्छ । कार्तिक शुक्ल चतुर्थीका दिन स्नान गरी एक छाक खाएर बस्ने गरिन्छ । दोस्रो दिन कार्तिक शुक्ल पञ्चमीमा सखर हालेर बनाइएको खीर ९खरना० षष्ठी मातालाई चढाई अलिकति व्रतालुले प्रसादस्वरुप खाने र नुन नखाई एक छाक फलाहार गरिन्छ । यो पर्वको मुख्य दिन कार्तिक शुक्ल षष्ठीका दिन कठोर निराहार व्रत बसी बेलुकी अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अघ्र्य दिने विधिविधान छ । षष्ठीका दिन रातभर जागा बसी कात्तिक शुक्ल सप्तमीका दिन बिहान उदाउँदो सूर्यलाई पूजा आराधना गरी विधिपूर्वक अघ्र्य दिएपछि यो पर्व समापन हुन्छ ।

विगतका वर्षहरुमा सामूहिक रुपमा नदी तथा तलाउका किनारमा मनाइँदै आएको यो पर्व यस वर्ष कोरोना संक्रमणका कारण प्रभावित भएको छ ।