इटहरीः राष्ट्रपति विद्यादेवी भण्डारी र उपराष्ट्रपति नन्दबहादुर पुनले छठ पर्वको अवसरमा आज देशवासीका नाममा शुभकामना व्यक्त गरेका छन् ।
राष्ट्रपति भण्डारीले शुभकामना सन्देश जारी गर्दै छठ पर्वले समाजमा विद्यमान वर्गीय, जातीय, लैङ्गिकलगायत विभेद अन्त्य गरी समतामूलक, प्रगतिशील, सभ्य र समुन्नत समाज निर्माण गर्नेतर्फ अग्रसर हुन प्रेरणा मिलोस् भन्ने कामना गर्दै यसका माध्यमबाट देशको मौलिक सँस्कृतिको संरक्षण भई देशवासीमा आपसी मेलमिलाप, सौहार्द र भाइचारा विकसित हुनुका साथै राष्ट्रिय एकता मजबुत हुने विश्वास व्यक्त गरेकी छन् ।
विश्वभरि रहेका नेपाली समुदायको सुख, शान्ति समुद्धि,सुस्वास्थ्य दीर्घायु तथा उत्तरोत्तर प्रगतिको कामना पनि राष्ट्रपति भण्डारीले गरेकी छिन् । विश्वव्यापी महामारीका रुपमा फैलिएको कोभिड १९ कोरोना भाइरसको प्रकोपबाट बच्न पर्व मनाउने क्रममा अधिकतम स्वास्थ्य सावधानी मनाउनुपर्ने उनको आग्रह छ ।
यसैगरी, उपराष्ट्रपति पुनले जारी गरेको शुभकामना सन्देशमा पनि यस पर्वले देशवासीलाई सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु तथा उत्तरोत्तर प्रगतिको मार्गमा अग्रसर गराओस् भन्ने कामनाका साथै संक्रमणको जोखिमबाट बच्न स्वास्थ्य सावधानी अपनाउनुपर्ने कुरामा जोड दिइएको छ । साथै, समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकांक्षाको प्राप्तिमा यस पर्वको सकारात्मक प्रभाव परोस् भन्ने कामनासमेत उपराष्ट्रपतिको सन्देशमा गरिएको छ ।