झापाः मेचीनगर नगरपालिकाको वडा नम्बर १ लाई खुला दिसामुक्त वडा घोषणा गरिएको छ । गडागल्लीमा आयोजित घोषणा सभामा मेचीनगर नगरप्रमुख विमल आचार्यले वडा नम्बर १ लाई खुला दिसामुक्त वडा घोषणा गरेका हुन् ।
वडा नम्बर १ को आयोजनामा भएको कार्यक्रममा कार्यक्रमका प्रमुख अतिथि समेत रहेका नगर प्रमुख आचार्यले वडालाई खुला दिसामुक्त घोषणा गरेका हुन् । नगरका १५ वटै वडालाई खुला दिसामुक्त वडा घोषणाको तयारी अन्तिम चरणमा पुगेको आचार्यले जानकारी दिए ।
प्रमुख आचार्यले १ नम्बर वडालाई खुला दिसामुक्त वडा बनाउन सक्रिय रूपमा लाग्ने जनप्रतिनिधिहरु, राजनीतिक दल, नागरिक समाज, विद्यार्थी, शिक्षकलगायत सबैमा धन्यवाद समेत ज्ञापन गरेका थिए ।
वडास्तरीय खानेपानी तथा स्वच्छता समन्वय समितिमार्फत् नगरस्तरीय खानेपानी सरसफाइ तथा स्वच्छता समन्वय समितिलाई खुला दिसामुक्तको लागि सिफारिश गरिएको थियो । त्यसपछि मेचीनगर नगरपालिका हुँदै जिल्ला खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय झापाले सो वडालाई खुला दिसामुक्त वडा घोषणाको सिफारीस गरेको खानेपानी डिभिजन कार्यालय झापाका फोकल पर्सन रुद्र न्यौपानेले बताए ।
१ हजार ४ सय ५६ घरधुरी भएको वडामा शतप्रतिशत बासिन्दाले चर्पी प्रयोग गर्न थालेको वडाध्यक्ष पासाङ तामाङले बताए ।
विद्यार्थीलाई पोशाक र शैक्षिक सामग्री
कार्यक्रममा सामुदायिक विद्यालयमा अध्ययनरत अति विपन्न तथा दलित फरक क्षमता भएका विद्यार्थीलाई विद्यालय पोशाक र शैक्षिक सामग्रीसमेत वितरण गरिएको थियो । पवित्रा आधारभूत विद्यालयलगायत तीनवटा विद्यालयका विद्यार्थीलाई सामग्री वितरण गरिएको आयोजकले जनाएको छ ।