धरानः धरान–१२ को छिमेकी युवा समूहको आयोजनामा एक दिने दन्त शिविर तथा स्वास्थ्य प्रशिक्षण शनिबार सम्पन्न भएको छ ।
कार्यालय परिसरमा भएको शिविरमा २ सय ६३ जनाले स्वास्थ्य लाभ लिएको आयोजकले जनाएको छ । शिविरमा दाँतसहित प्रेसर, सुगरलगायतको परीक्षण गरिएको कार्यक्रम संयोजक दीपक शाक्यले बताए । शिविरमा वडाका २२ महिनाका बालकदेखि ८२ वर्षसम्मका ज्येष्ठ नागरिकले स्वास्थ्य लाभ लिएका थिए ।
शिविर वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, नोबेल मेडिकल कलेज एण्ड हस्पिटल विराटनगर र धरान डेन्टल क्लिनिकका चिकित्सकको प्राविधिक सहयोगमा भएको बताइएको छ । शिविरमा दन्तरोग विशेषज्ञ डा. नन्दन श्रेष्ठ, सुक्ष्म विज्ञान तथा सङ्क्रमण विभागका विशेषज्ञ डा. केवल श्रेष्ठ, दन्तरोग विशेषज्ञ डा. रवि आचार्यले विशेष जाँच गरेका थिए ।
यसैगरी, दन्त सर्जन डा. स्वेच्छा श्रेष्ठ, डा.रोयाशा शाक्य, डा. आङ्सा बधू र डा. प्रियङ्का थापाले समेत जाँच गरेका थिए । ल्याब टेक्निसियन सुरेन्द्र चौधरी र स्टाफ नर्स मेलिना योञ्जनले प्राविधिक सहयोग गरेका थिए । कार्यक्रमको उद्घाटन प्रमुख अतिथि वडाध्यक्ष टङ्क राईले गरेका थिए । दाँतका समस्या भएका वडाबासीको लागि उपचारका साथै सचेतना गराउने उद्देश्यले शिविरको आयोजना गरिएको समूहका अध्यक्ष राजेन्द्र राईले बताए ।