धरानः प्रजातन्त्रवादी प्राध्यापक सङ्घ, पिण्डेश्वर विद्यापीठ एकाइ समितिले गवेषणा वार्र्षिक पत्रिकाको चौथो अङ्कको लोकार्पण तथा परिचर्चा कार्यक्रम बिहीबार सम्पन्न गरेको छ ।
कार्यक्रमका प्रमुख अतिथि भाषाविद्, समालोचक एवम् पिण्डेश्वर विद्यापीठका पूर्व विद्यार्थीसमेत रहेका प्रा.डा. टङ्कप्रसाद न्यौपानेले पत्रिकाको लोकार्पण गरेका थिए । नेपाली, संस्कृत र अङ्ग्रेजी भाषामा अनुसन्धानमूलक २६ वटा लेख, रचनाहरू समाविष्ट प्रस्तुत पत्रिका भाषा साहित्यका अनुसन्धाताहरूका लागि सङ्ग्रहणीय कृति रहेको उनको भनाइ थियो । विद्यावारिधी गर्न लागेका शोधार्थी एवम् प्राध्यापकहरूको पदोन्नतिका लागि समेत गवेषणा बहुउपयोगी रहेको डा. न्यौपानेले बताए ।
महेन्द्र बहुमुखी क्याम्पसका उपप्राध्यापक डाक्टर अमृतकुमार श्रेष्ठले अनुसन्धानमूलक लेख, रचनाहरूमा प्रयोग गरिने विभिन्न प्रविधिहरूका आधारमा पत्रिकामाथि परिचर्चा गरेका थिए । पत्रिकामा रहेका संस्कृत भाषाका लेख, रचनाहरूका विषयमा प्रा.डा. भीमप्रसाद खतिवडाले समीक्षा प्रस्तुत गरेका थिए । उनले पिण्डेश्वर विद्यापीठबाट प्रकाशित हुँदै आएका पत्रिकाहरूमध्ये गवेषणाको यो अङ्क निकै परिष्कृत रहेको जनाउँदै छिटपुट त्रुटिहरूलाई आगामी अङ्कमा सुधार गर्दै लैजान सुझाव दिए । संस्कृत वाङ्मयभित्र रहेको ज्ञानलाई उजागर गर्न, भाषा र साहित्यको अध्ययन अनुसन्धानमा सघाउ पु¥याउन एवम् शिक्षक र विद्यार्थीहरूलाई पठनपाठनमा सहज बनाउन यस पत्रिकाको उल्लेख्य योगदान रहेको कुरामा वक्ताहरूको जोड थियो ।
विद्यापीठ आफैं यस क्षेत्रकै अनुसन्धान केन्द्रका रूपमा समेत विकसित हुँदै आएको विद्यापीठका प्राचार्य प्रा.डा. चन्द्रमणि नेपालले बताए ।
कार्यक्रममा प्रजातन्त्रवादी प्राध्यापक सङ्घ नेपालका केन्द्रीय सदस्य उपप्रा. जीवनकुमार राई, नेपाल संस्कृत विश्वविद्यालय कर्मचारी सङ्घका केन्द्रीय उपाध्यक्ष भेषबहादुर निरौला, प्रगतिशील प्राध्यापक सङ्गठन पिण्डेश्वर विद्यापीठ एकाइका अध्यक्ष उपप्रा. सुमन खतिवडा, महेन्द्र बहुमुखी क्याम्पस धरानका प्र.प्रा. सङ्घका सभापति उपप्रा. गङ्गा चौलागाईँ, पत्रिकाका प्रधान सम्पादक सहप्रा. दामोदर गौतमलगायतले शुभकामना मन्तव्य राखेका थिए ।
समितिका अध्यक्ष उपप्रा. डा. भवानीशङ्कर भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा प्राध्यापक तोयराज कोइरालाले स्वागत मन्तव्य प्रस्तुत गरेका थिए । उपप्रा. डा. महानन्द तिमिल्सिनाले कार्यक्रम सञ्चालन गरेका थिए ।
पिण्डेश्वर विद्यापीठबाट मात्रै अहिले वार्षिक रूपमा आधा दर्जनभन्दा बढी सिर्जनात्मक एवम् अनुसन्धानमूलक पत्रिकाहरू प्रकाशित हुँदै आएका छन् । विद्यापीठ प्रशासन र यस मातहतका प्राध्यापक र विद्यार्थीहरूका विभिन्न सङ्घ, सङ्गठनबाट प्रभा, गवेषणा, प्रज्ञाज्योति, निष्ठा, प्रगति, नेपाल, पीपलजस्ता पत्रिकाहरू प्रकाशित हुँदै आएका छन् ।