धरानः पर्दामा अनेकाैं भूमिकामा देखिने कलाकार शोभिता सिंखडा बिहीबार धरानमा अलग अवतारमा देखा परिन् । धरानको बिग फुटसलमा भएको साहित्यिक जमघटको उनी प्रमुख पात्र थिइन् ।

लामो समय सिने क्षेत्रसबाट टाढा रहेकी सिंखडाले भनिन्, ‘म कथाको पात्रमा रुमलिएकी थिएँ । 'तीन वर्ष जुनकीरी भएर जिएकी छु ।' जुनकीरी कोही नभएर उनको पहिलो कृति ‘वराङगना’को मुख्य पात्र हो । विपन्न दलित परिवारमा हुर्केकी जुनकिरीको समाजको कथित उच्च जातको केटासँग भएको प्रेमकथाले पछौटे नेपाली समाजमा गर्नुपरेको सङ्घर्षको कथालाई उजागर गरेको छ ।

बुलबुल प्रकाशनले बजारमा ल्याएको उक्त कृतिमाथि कलरव धरानले लेखकसँगको जमघट जुटाएको हो । कार्यक्रममा शुभकामना मतव्य राख्दै प्रा.डा. भीम खतिवडाले पर्दाको रङ्गीन संसारबाट लेखनको सागरमा हाम फाल्नु ठूलो साधनामा प्रतिफल भएको भन्दै यसलाई निरन्तरता दिन आग्रह गरे ।

प्रकाशक संस्था बुलबुलका तर्फबाट अच्युत घिमिरेले सो कृति सामाजिक यथार्थवादी उपन्यास रहेको प्रस्ट्याए । स्वच्छन्द ढङ्गले लेखिएको सामाजिक विषयवस्तु भएको हुँदा पाठकको मन छुने घिमिरेले दाबी गरे ।