धरानः चाडपर्वलाई लक्षित गर्दै धरानमा मासु पसलहरूको अनुगमन बिहीबारदेखि शुरु गरिएको छ ।

धरान उपमहानगरपालिका अन्तर्गतको अनुगमन समितिले पहिलो चरणमा धरानका १२ वटा मासु पसलहरूबाट अनुगमनको शुरुवात गरेको हो । धरान–३ स्थित माछाभौडी र धरान ७ का मासु पसलको अनुगमन गरियो । अनुगमनका क्रममा अधिकांश मासु पसलहरू मापदण्ड विपरीत सञ्चालन भएको पाइएको हो ।

पशु बधशाला तथा मासु जाँच ऐन २०५५ तथा नियमावली २०५७ को मापदण्डअनुसार सञ्चालनमा केही कमजोरी भेटिएको अनुगमन समितिका संयोजक एवम् वातावरण अधिकृत भेषराज घिमिरेले बताए । घिमिरेका अनुसार साइनबोर्ड, मूल्य सूची, इजाजतपत्र अधिकांशमा पाइएको थिएन । त्यस्ता कागजात राख्नेले पनि देखिने ठाउँमा नराखेको पाइएको हो ।

त्यस्तै, पशुपंक्षीको बध गर्ने स्थान र पसल सँगै रहेकाले स्वास्थ्यमा असर पर्ने खालको देखिएको उनले बताए । व्यवस्थित रूपमा मासु राख्ने ठाउँ समेत नरहेको र भएको सिसाको बक्समा मासु नराखी बाहिरै राखिएको पाइएको धरान उपमहानगरपालिकाका सूचना अधिकृत भक्तिराज शर्माले बताए । अधिकांशमा धेरै सुधार गर्नुपर्ने देखिएकाले सुधार गर्न निर्देशन दिएको शर्माले बताए ।

त्रुटि भेटिएकाहरूलाई यसपटक सम्झाइबुझाइ मात्र गरिएको समितिका संयोजक घिमिरेले बताए । अर्को पटक अनुगमनका क्रमम त्यस्ता कमजोरी भेटिए नियमअनुसार कारबाही गरिने उनले बताए । धरान मासु व्यवसायी सङ्घका अध्यक्ष मदन तामाङले उपभोक्तासँग जोडिएको हुनाले आफूहरू गम्भीर रहेको बताए ।

उनले कसरी गुणस्तरीय मासु बिक्री गर्ने भन्ने विषयमा समय–समयमा व्यवसायीहरूलाई सचेतना गराइरहेको दाबी गरे । त्यति गर्दा पनि सुधार हुन नसकेकाले यसलाई निरन्तरता दिइने र यसमा सम्बन्धित पक्षबाट सहयोगको अपेक्षा गरिएको उनको भनाइ थियो ।

गत सालको तुलनामा केही सुधार
मासु व्यवसायीहरूले गत सालको तुलनामा केही सुधारका प्रयासहरू गरेको पाइएको अनुगमन समितिका संयोजक भेषराज घिमिरेले बताए । मापदण्डअनुसार केही कमजोरी रहे पनि गुणस्तर र स्वास्थ्यका कुराहरूमा केही सुधरर्ने प्रयास गरेको देखिएको उनले बताए । ‘मापदण्ड अनुसार त अझै पनि सञ्चालन भएको छैन । तर, अधिकांश मासु व्यवसायीले गुणस्तर, स्वस्थकर मासु बेच्ने प्रयास गर्नुभएको देखियो,’ उनले भने, ‘कतिपय ठाउँमा साँघुरो, ठाउँ अभावले पनि व्यवस्थित गर्न नसकेको पाइयो ।’

मासु व्यवसायीसँग व्यवसाय दर्ता प्रमाणपत्र भए पनि इजाजतपत्र छैन
बिहीबार अनुगमन गरिएका १२ वटा मासु पसलको व्यवसाय दर्ता प्रमाणपत्र भए पनि इजाजतपत्र नलिएको पाइएको अनुगमन समितिका संयोजक घिमिरेले बताए । इजाजतपत्र लिनैपर्ने व्यवस्था भए पनि अनुगमन गरिएका १२ वटै पसलहरूले इजाजतपत्र लिएका छैनन् । साबिकको जिल्ला पशु सेवा कार्यालयबाट इजाजतपत्र लिने व्यवस्था थियो । तर, अहिले स्थानीय तहको क्षेत्राधिकारभित्र पर्ने भएकाले नगरपालिकाबाट इजाजतपत्र लिनुपर्ने उनले बताए ।

यसमा पनि व्यवसायीहरूलाई प्रशिक्षण दिन आवश्यक रहेको उनले बताए । ‘औषधि पसल जस्तै मासु पसलले पनि इजाजतपत्र लिने कानुनी व्यावस्था छ । तर, आज कसैको पसलमा त्यो लिएको भेटिएन,’ उनले भने, ‘व्यवसायीहरूलाई अनिवार्य इजाजतपत्र लिन निर्देशन दिएका छौँ ।’