धरानः स्कुलस्तरीय एकल नृत्य १ नम्बर स्तरीय सिजन ४ कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा यु केजीदेखि ३ कक्षासम्मको जुनियर समूहको र ४ देखि ६ कक्षासम्म मध्यम समूहको प्रतिस्पर्धा असोज १५ गते धरानको सैनिक भवनमा सम्पन्न भएको छ ।

कक्षा ७ देखि १२ सम्मको सिनियर समूहको भने मंसिर तेस्रो साता प्रतियोगिता हुने कार्यक्रम आयोजक युनाइटेड डान्स एकेडेमीका सञ्चालक सन्तोष तामाङले बताए ।

किताबी ज्ञान मात्र होइन नाच पनि एउटा शिक्षा हो र यसले पनि जीविकोपार्जन गर्न सक्छ भनेर स्कुल कार्यक्रम आयोजना गरिएको बताइएको छ ।

डान्स कार्यक्रममा जुनियर समूहका प्रथम स्थनन ब्लोसोम मन्टेश्वरीकी याङछोमा लिम्बूले १५ हजार प्राप्त गरिन् । पुरस्कारको प्रायोजन माउन्ट एभरेस्ट ट्रेनिङ सेन्टरले गरेको थियो । दोस्रो, तेस्रो, चौथो र पाँचौँ स्थान क्रमश धरान मन्टेश्वरीका सवाना राई, सगुन लामिछाने, रिन्छेन तामाङ र नानिमा लिम्बू भए । उनीहरूले क्रमश ७ हजार, ३ हजार र २÷२ हजार नगद पुरस्कार प्राप्त गरे ।

मध्यम स्तरीय प्रतिस्पर्धामा ज्ञानोदय स्कुलकी पासाङ तामाङ पहिलो भई नगद ३० हजार पुरस्कार प्राप्त गरिन् । सो पुरस्कारको प्रायोजन नेपाल मन्टेश्वरी एसोसिएसन धरानका अध्यक्ष दीपक अग्रवालले गरेका थिए ।

त्यस्तै, दोस्रो स्थान ल्याउन सफल बेबिलोन स्कुल इटहरीकी एसिका तामाङले १५ हजार र भने तेस्रो स्थान ल्याउन सफल विजयपुर स्कुलकी रिस्ता याक्खाले १० हजार रुपैयाँ पुरस्कार पाइन् । कार्यक्रमको प्रारम्भिक चरणमा १ नम्बर प्रदेशका ३३ वटा स्कुलका ४ सय ३५ जना विद्यार्थी सहभागी भएका थिए ।

कार्यक्रम युनाइटेड डान्स एकेडेमी धरानका अध्यक्ष हर्क योञ्जनको अध्यक्षतामा भएको थियो भने प्रमुख अतिथि धरान उपमहानगरपालिका वडा नम्बर ९ का अध्यक्ष रत्न कटवाल रहेका थिए ।