इटहरीः ‘म सत्य, निष्ठा र गरीबका पक्षमा हिजो पनि थिएँ र आज पनि छु,’ यो भनाइ अरु कसैको नभई नेपालको सर्वोच्च अदालतकी पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको हो ।

कालो कोट लगाएर यस्तै भनाइ सापटी लिँदै सत्य र न्यायको पक्षमा वकालत गर्दै फैसला सुनाउने तिनै कार्की मङ्गलबार इटहरीमा न्यायाधीश बनेर नभई लेखक बनेर उपस्थित भइन् । उनले आफू न्यायलयमा रहँदाका तीता मिठा अनुुभव सुनाइन् ।

सो अवसर जुराएको थियो लियो क्लब इटहरी र क्रियटिप्स लेडी लायन्स क्लबले । दुुवै क्लबको संयुुक्त आयोजनामा भएको कार्यक्रममा कार्कीले आफ्नो पुस्तक ‘न्याय’ बारे बोल्दै नेपालको न्यायालयमा हुने बेथिति र राजनीतिक हस्तक्षेपको फेहरिस्त सुनाएकी थिइन् ।

उनले राजनीतिक दबाबमा ठूला मुद्दा ओझेलमा पार्ने प्रयास हुनेसमेत बताएकी थिइन् । सुडान घोटला प्रकरण र लोकमान सिंह कार्कीको मुुद्दालाई उदाहरण दिँदै सो बेलाको राजनीतिक दबाब उनले स्मरण समेत गरेकी थिइन् ।

पुस्तकमाथि कवि मनुु मञ्जिल र सीमा अभासले बोलेका थिए । मनुु मञ्जिलले सुशीला कार्कीले महिला भएका कारणले मात्र नभई सत्य तथ्यमा अडिग रहेर न्यायिक कार्य गरेको नजिरको आधारमा यो सफलता हात पारेको बताए ।

सीमा आभासले एउटी सफल महिला हुन श्रीमान्कोसमेत अहम् भूमिका हुने भन्दै  सुशीलाको सफलतामा श्रीमान्को सहयोगले महत्वपूर्ण भूमिका खेलेको बताइन् ।

कार्यक्रम संयोजक युवराज काफ्लेले न्याय दिने क्षेत्रमा नै अन्याय भएको बारे सामान्य जनताले पहिलो पटक यस्तो भित्री कुरा पुस्तकमार्फत् थाहा पाएको बताए । कार्कीको जीवनी (न्याय) बुक हिल प्रकाशनले बजारमा ल्याएको हो  ।