विराटनगरः नोबेल मेडिकल कलेज टिचिङ हस्पिटलले धनकुटाको हिले र मोरङको बेलबारीमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । शिविरमा १ हजार ६ सय १० जना बिरामीको निःशुल्क उपचार गरिएको बताइएको छ ।

अस्पतालका अनुसार हिलेमा भएको शिविरमा १ हजार १ सय ४५ र बेलबारीमा भएको शिविरमा ४ सय ६५ जना बिरामीको निःशुल्क उपचार गरिएको थियो । अस्पतालका जनसम्पर्क अधिकृत नारायण दाहालका अनुसार बेलबारीमा १ सय १० जनाको भिडियो एक्सरे, २९ जनाको ईसीजी र ६५ जनाको ल्याब टेष्ट गरिएको थियो । गम्भीर प्रकृतिका र शल्यक्रिया गर्नुपर्ने २४ जना बिरामीलाई नोबेल अस्पताल रेफर गरिएको थियो ।

शिविरबाट रेफर गरिएका बिरामीलाई ५० प्रतिशत छुटमा उपचार गरिने नोबेल अस्पताल सञ्चालक डा. सुनिल शर्मा बताउँछन् । ‘रिफर भएका सवै बिरामीलाई ५० प्रतिशत छुटमा उपचार गर्छाै,’ उनले भने, ‘अत्यन्तै न्यून आर्थिक अवस्थाका बिरामी भेटिएमा छुटको मात्रा बढाउने वा निःशुल्क उपचार गर्ने गरेका छौँ ।’ शिविरमा हाडजोर्नी र छाला सम्बन्धी बढी रोगी आएको पनि उनले जानकारी दिए ।

अस्पतालले हिलेमा स्वावलम्बन लघुवित्त वित्तीय सस्थासँग समन्वय गरी शिविर सञ्चालन गरेको थियो । शिविरमा धनकुटाको पाख्रीबास, बेलहारा, चुङवाङ, सिँधुवालगायत स्थानका साथै छिमेकी जिल्ला तेह्रथुमबाट पनि बिरामीहरू उपचारका लागि आएका थिए । शिविरमा छाला, आँखा, दम रोग, हाडजोर्नी सम्बन्धी समस्या भएका बिरामी बढी मात्रामा आएको बताइएको छ ।

Sibir-Photo-1 Sibir-Photo-4