इटहरी :सरकारले साउन १५ गतेदेखि होटल सञ्चालन गर्न दिने निर्णय गरेको छ।

सोमबार बसेको मन्त्रिपरिषदको निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता डा. युवराज खतिवडाले कोभिड–१९ सम्बन्धी सुरक्षाका मापदण्ड अपनाई होटल तथा रेष्टुरेण्टले सेवा दिन सक्ने जानकारी दिए।

होटल तथा रेष्टुराँमा सभा सम्मेलन भने गर्न पाइने छैन। त्यस्तै, ट्राभल, ट्रेकिङ एजेन्सी पनि साउन १५ देखि नै सञ्चालन गर्न पाइने भएको छ।

खेलकुदका प्रशिक्षण तथा प्रारम्भिक चरणका खेलकुद पनि भदौदेखि सञ्चालन गर्न पाइने भएको छ।

के÷के पाइँदैन ?

सरकारले ठूला सभा, सम्मेलन, गोष्ठी, सेमिनार गर्न भने बन्देज लगाइएको छ।
शैलुन, ब्युटीपार्लर, जिमखाना, चिडियाखाना, धार्मिकस्थल, स्वीमिङ पुल, सिनेमा घरहरू सञ्चालन गर्न नपाइने भएको छ।

यी व्यवसायका सम्बन्धमा पछि फेरि निर्णय गरिने प्रवक्ता खतिवडाले बताए।