इटहरीः इटहरी उपमहानगरपालिकाले आफ्नो नियमन क्षेत्रभित्र रहेका तर लामो समयदेखि आवश्यक विवरण नबुझाएका १५ वटा सहकारी संस्थाको विवरण सार्वजनिक गरेको छ ।
नगरपालिकाको सहकारी शाखाले सूचना जारी गर्दै नगर सहकारी ऐन, २०७५ को दफा ५२ तथा नगर सहकारी नियमावली, २०८० को नियम ५५ बमोजिम लगातार दुई वर्षभन्दा बढी समयदेखि बुझाउनुपर्ने विवरण नबुझाएका सहकारी संस्थाको नामावली सार्वजनिक गरेको जनाएको छ ।
नगरपालिकाका अनुसार सहकारी संघ/संस्था दर्ता, सञ्चालन, अनुगमन तथा नियमनसम्बन्धी मापदण्ड, २०८० को दफा २६ को उपदफा १ बमोजिम ती संस्थाको विवरण सार्वजनिक गरिएको हो ।
सूचनामा सार्वजनिक भएको मितिले ३५ दिनभित्र तोकिएबमोजिमका आवश्यक कागजातसहित उपमहानगरपालिकाको कार्यालयमा सम्पर्क गरी संस्था अद्यावधिक गराउन भनिएको छ । तोकिएको अवधिभित्र सम्पर्क नगरेमा नियमानुसार थप कारबाही तथा संस्था खारेजीसमेत हुन सक्ने नगरपालिकाले जनाएको छ ।

नगरपालिकाले सहकारी संस्थाहरूबाट हालसम्म नबुझाइएका वार्षिक प्रतिवेदन तथा लेखापरीक्षण प्रतिवेदन, वार्षिक कार्यक्रम तथा नीति–योजना, सञ्चालकहरूको नाम–ठेगानासहितको विवरण, साधारणसभाको बैठकसम्बन्धी जानकारी, शेयर सदस्य संख्या तथा शेयर पुँजी, विभिन्न कोषको विवरण, सञ्चालक समिति तथा लेखा सुपरिवेक्षण समितिका पदाधिकारी तथा कर्मचारीको सम्पत्ति विवरण लगायतका कागजात माग गरेको छ ।
उपमहानगरपालिकाले सार्वजनिक गरेको सूचीमा इटहरीका निम्न १५ सहकारी संस्था छन् :
राजमार्ग कृषि सहकारी संस्था लि. – इटहरी–८
त्रिकोण कृषि सहकारी संस्था लि. – इटहरी–१३
पार्वती कृषि सहकारी संस्था लि. – इटहरी–१५
महक महिला कृषि सहकारी संस्था लि. – इटहरी–२०
किसान हित बाख्रापालन सहकारी संस्था लि. – इटहरी–२०
प्रशान्त बहुउद्देश्यीय सहकारी संस्था लि. – इटहरी–३
सहकारी संस्था लि. – इटहरी–२०
आयाम बचत तथा ऋण सहकारी संस्था लि. – इटहरी–५
त्रिलोक बचत तथा ऋण सहकारी संस्था लि. – इटहरी–१२
चिन्तामणि बचत तथा ऋण सहकारी संस्था लि. – इटहरी–२०
दियो बचत तथा ऋण सहकारी संस्था लि. – इटहरी–३
मण्डली बचत तथा ऋण सहकारी संस्था लि. – इटहरी–३
हिमाली बचत तथा ऋण सहकारी संस्था लि. – इटहरी–४
सत्यवती महिला बचत तथा ऋण सहकारी संस्था लि. – इटहरी–१६
स्वाधीन सूचना सञ्चार सहकारी संस्था लि. – इटहरी–६
उपमहानगरपालिकाले सहकारी संस्थाहरूलाई समयमै आवश्यक विवरण तथा कागजात पेश गरी आफ्नो संस्था अद्यावधिक गर्न आग्रह गरेको छ ।




















