विराटनगरः  गोप्य सुचनाका आधारमा  तास खेलिरहेको स्थानमा प्रहरी पुगेपछि विराटनगरमा गए भागदौड मच्चिएको छ । भागदौडका क्रममा दुई तलामाथिबाट हामफालेर भाग्न खोज्ने एक जना घाइते भएका छन् ।


विराटनगर महानगरपालिका–६ सरोचियास्थित लालु पासवानको घरमा सोमबार राति तास खेलिरहेको अवस्थामा प्रहरी पुगेपछि  भागदौड मच्चिएको हो । मोरङ  भाग्ने क्रममा विराटनगर–८ का ४१ वर्षीय चन्दन मुखिया घरको दुई तलामाथिबाट हामफाल्दा घाइते भएको प्रहरी प्रमुख एसपी कवित कटवालले जानकारी दिए  । कटवालका अनुसार उनको दाहिने खुट्टा भाँचिएको छ । एम्बुलेन्स चालकसमेत रहेका मुखियाको प्रहरी निगरानीमा विराटनगरस्थित श्री अस्पतालमा उपचार भइरहेको छ । 

घटना स्थलबाट प्रहरीले तास खेल्नमा संलग्न रहेका घाइतेसहित ८ जनालाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा मोरङको धनपालथान गाउँपालिका–६ का ३३ वर्षीय साजन राजवंशी, विराटनगर–४ का ५२ वर्षीय सत्यनारायण राजवंशी र ४८ वर्षीय तोरण यादव, विराटनगर–६ का २६ वर्षीय राजेश कामत, ५३ वर्षीय गंगाराम मण्डल र ४३ वर्षीय विष्णु कामत तथा विराटनगर–१४ का ५५ वर्षीय बलराम कोइराला रहेका छन् । 


पक्राउ परेकाहरुको साथबाट तास र नगद ४८ हजार ३ सय ९५ रुपैयाँ बरामद गरेको छ । पक्राउ परेकाहरुलाई जिल्ला प्रहरी कार्यालयमा राखेर थप अनुसन्धान अघि बढाइएको एसपी कटवालले बताए ।

राति करिब ११ः३० बजेतिर गस्तीमा रहेको प्रहरी टोलीले सरोचियामा गस्ती गरिरहेका बेला पासवानको घरबाट मानिसहरू होहल्ला गर्दै भागिरहेको देखेको थियो । तत्काल घरमा पुगेर बुझ्दा तास खेलिरहेको र प्रहरीलाई देखेपछि भागदौड मच्चिएको पाइएको एसपी कटवालका जानकारी दिए । स्थानीयका अनुसार पासवानको घरमा तासको खाल नियमितजस्तै सञ्चालन हुने गरेको छ । त्यहाँ तास खेल्न टाढा–टाढाबाट पनि आउने गरेको पाइएको प्रहरीले प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।