धरानः सुनसरीको धरान उपमहानगरपालिका–१५ आरालाइनस्थित भित्री सडकमा बुलेट मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। मृतकको पहिचान भने खुल्न सकेको छैन।
प्रहरीका अनुसार २०८३ असोज १३ गते बिहान करिब १ः०५ बजे श्यामचोकबाट पुरानो बसपार्कतर्फ जाँदै गरेको को ३५ प ४११५ नम्बरको रोयल इन्फिल्ड (बुलेट) मोटरसाइकल आफैं अनियन्त्रित भई सडक छेउमा रहेको दिव्या लिम्बुले सञ्चालन गरेको मासु पसलको पर्खालमा ठोक्किएको थियो।
दुर्घटनामा मोटरसाइकल चालक गम्भीर घाइते भई घटनास्थलमै बेहोस भएका थिए। स्थानीयवासी र प्रहरीले तत्काल उद्धार गरी एम्बुलेन्समार्फत बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान पठाएका थिए। उपचारका क्रममा बिहान करिब १ः३० बजे चिकित्सकले उनलाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार मृतक पुरुषको उमेर करिब ३०/३१ वर्ष रहेको अनुमान गरिएको छ। उनको नाम, थर, ठेगाना तथा आफन्तबारे हालसम्म कुनै जानकारी प्राप्त हुन सकेको छैन।
प्रहरीले मृतकको हुलिया सार्वजनिक गर्दै उनलाई चिन्नुहुने वा उनको बारेमा जानकारी भएका व्यक्तिलाई सम्बन्धित प्रहरी कार्यालयमा सम्पर्क गर्न अनुरोध गरेको छ।
मृतकको हुलियाः
उमेरः करिब ३०/३१ वर्ष
अनुहारः मंगोलियन
पहिरनः कालो जुत्ता, कालो पाइन्ट
भित्री कपडाः सेतो टी–सर्ट
बाहिरी कपडाः कालोमा सेतो धर्के चेक सर्ट
हातमाः कालो पञ्जा
सवारीः को ३५ प ४११५ नम्बरको रोयल इन्फिल्ड मोटरसाइकल
मृतकको पहिचान तथा दुर्घटनाको थप विवरणबारे प्रहरीले अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।




















