इटहरीः कोरोना संक्रमितहरुको उपचारका लागि प्रदेश नम्बर १ सरकारले सुन्दरहरैंचा नगरपालिकामा रहेको पुर्वाञ्चल विश्वविधालयमा पनि कोरोना उपचार केन्द्र निर्माण गर्ने भएको छ । नेपाली सेनाको व्यवस्थापनमा विश्वविद्यालयमा केही दिन भित्रमै कोरोना उपचार केन्द्र संचालनमा आउने भएको हो ।
कोरोना उपचार केन्द्र निर्माणका लागि मंगलवार विश्वविद्यालयको प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राई सहितको टोलीले स्थलगत अवलोकन गरेको छ । मुख्यमन्त्रीसंगै सामाजिक विकास मन्त्री जीवन घिमिरे, आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्की, प्रदेश सांसद राजकुमार ओझा, मोरङका सिडिओ मदन भुजेल, सुन्दरहरैंचा नगरपालिकाकी उपमेयर धना तामाङ लगायतको सहभागीता रहेको थियो ।
मुख्यमन्त्री सहितको टोलीले विश्व विधालयको पुर्वाधार र वातावरणको स्थलगत अवलोकन गरेको हो । प्रदेश सरकारद्वारा मोरङको टाँढी स्थित खुल्ला चौरमा आपतकालीन स्थापना गरिएको क्वारेन्टाइन समेत विश्व विधालयमा सार्ने तयारी भएको छ । हावाहुरी र नजिकिदै गरेको वर्षा याममा खुल्ला स्थान उपयुक्त नहुने भएकाले विश्व विधालयको भवनमा कोरेनटाइन सार्न लागिएको हो ।
कोरोना संक्रमित बिरामीहरुलाई अवस्था हेरेर विश्व विधालयमा उपचार हुनेछ । सो स्थानमा मध्यम तथा न्यून जोखिम भएका संक्रमित बिरामीको उपचार गरिने व्यवस्था गरिएको छ । उच्च जोखिम भएकाहरुलाई धरान घोपा वा कोशी अञ्चल अस्पताल पठाइने भएको छ ।
कोरोनाको उच्च जोखिमबाट सुरक्षा सतर्कता अपनाउन उक्त अस्पताल निर्माण गरिन लागेको सामाजिक बिकास मन्त्री जीवन घिमिरेले वताए । कोरोना नियन्त्रण र न्यूनीकरणकालागी प्रदेश सरकार सफल हुने विश्वास व्यक्त गर्दै भैपरी आए पुर्वी क्षेत्रका कोरोना संक्रमित विरामीलाई उपचार गराउन सहज हुने उनले वताए ।
सो क्षेत्रका प्रदेश सांसद राजकुमार ओझाको विशेष पहलमा प्रदेश सरकारद्वारा निर्माण हुन लागेको उपचार केन्द्रमा आइसुलेसन र कोरेनटाइनको राम्रो व्यवस्था गरिने भएको छ । भेन्टिलेटर समेतको व्यवस्था हुने गरी अस्पताल निर्माण गर्न आफुले पहल गरिरहेको सांसद ओझाले वताए ।
विश्व विधालयका उपकुलपति यादवराज कोइरालाले हालको भयावह स्थितिमा महामारी नियन्त्रणका लागी विश्व विधालयले जस्तोसुकै सहयोग गर्न तयार रहेको वताए । अस्पताल निर्माणको काम नेपाली सेनाले मङ्लबार देखि नै सुरु गर्ने जनाएको छ ।
यसअघि प्रदेश सरकारले कोशी अञ्चल अस्पताल विराटनगरमा १ सय बेडको र वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा १ सय बेडको दुई वटा कोरोना उपचार केन्द्र(अस्पताल)को निर्माण गरि संचलानमा ल्याईसकेको छ । हाल कोशी अञ्चल अस्पतालमा प्रदेश नम्बर १ मा कोरोना संक्रमण पुष्टि भएका बिरामीहरुलाई राखेर उपचार गराईरहेको छ ।