इटहरीः नेपालमै सबैभन्दा बढी कोरोना संक्रमित भेटिएको उदयपुरमा कोरोना उपचार केन्द्र बनाउन माग गरिएको छ । उदयपुरको त्रियुगा नगरपालिका वडा नम्बर ३ भुल्केमा कोरोना संक्रमित देखिएको ८ दिनपछि सो स्थानमा शनिवार पुगेका प्रदेश १ मा मुख्यमन्त्री समक्ष उदयपुरबाट प्रदेशसभामा प्रतिनिधित्व गर्ने सांसदहरुले सो माग गरेका हुन् ।
दुई मन्त्री हिक्मत कार्की र जीवन घिमिरे सहित भुल्के आएका मुख्यमन्त्री राई सामु सांसद विमल कार्कीले उदयपुरको बेल्टारस्थित सशस्त्र बेस क्याम्पमा कोरोना उपचार केन्द्र बनाउन माग गरेका हुन् । उनले औपचारिकरुपमा यो प्रस्ताव प्रदेश सरकारसँग पेश पनि गर्ने बताए । त्रियुगा नगरपालिकाका मेयर वलदेव चौधरीले पनि मुख्यमन्त्री उपस्थित कार्यक्रममा कोरोना अस्पताल भुल्केलाई पायक पर्ने ठाउँमा बनाउन माग गरेका छन् ।
मुख्यमन्त्री, मन्त्रीहरुले उपयुक्त ठाउँको खोजी गरेर कोरोना उपचार केन्द्र बनाउने आश्वासन दिए । स्थानीय जनप्रतिनिधिहरुले कोरोना संक्रमणको बढी प्रभावित भुल्के र जोखिम भएको चौदण्डीगढीको सिवाई क्षेत्र भएकोले यी दुई क्षेत्रलाई सहज हुने गरि उपचार केन्द्र बनाउनुपर्ने माग राखेका थिए । ‘बेल्टारमा एपिएफको बेसक्याम्पस बनेको छ, तर सशस्त्र सरिनसकेको स्थानीय जनप्रतिनिधिहरुले बताएका छन् ।
अहिले संक्रमितलाई व्यक्तिलाई विराटनगरको कोभिड अस्पताल र धरानको वीपी प्रतिष्ठान पठाउनुपर्ने अवस्था छ । प्रदेश सरकारले सबैभन्दा बढी संक्रमित भेटिएको उदयपुरमा पनि उपचार केन्द्र बनाउने योजना ्ररहेको सामाजिक विकास मन्त्री जीवन घिमिरे बताएका छन् । मुख्यमन्त्री भुल्के पुग्नु अघिल्लो दिन पनि पुगेका सामाजिक विकास मन्त्रीले त्रियुगा नगरपालिकाका मेयर लगायत स्थानीय जनप्रतिनिधिहरुले कोरोना उपचार केन्द्रको माग गर्दा त्यसका लागि प्रदेश सररकारले १ करोड बजेट विनियोजन गरेको बताएका थिए । कोरोना उपचार केन्द्र कहाँ बनाउदा सबैलाई सहज हुन्छ भन्ने ठाँउको खोजीमा प्रदेश सरकार लागि परेको बताएका थिए ।