इटहरीः नियुक्ती भई कार्यभार समालेको पूरा नहुँदै आफ्नो कार्यशैलीका वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका नवनियुक्त उपकुलपति विवादमा तानिएका छन् ।
कोरोना रोकथाम र उपचारमा उपकुलपति डा. ज्ञानेन्द्र गिरीले स्थानीय निकायसंग कुनै समन्वय नगरी आफुखुसी काम गर्दा धरान उपमहानगरपालिका कोरोना संक्रमणको उच्च जोखिममा रहेको आरोप धरान उपमहानगरपालिकाका मेयर तिलक राईले लगाएका छन् । यो आरोपसंगै उनि विवादमा आएका हुन् ।
प्रदेश सरकारका सामाजिक विकास मन्त्री जीवन घिमिरेको आदेश भन्दै उपकुलपति गिरीले केही दिनअघि उदयपुर त्रियुगा ३ बाट कोरोना संक्रमित ८ जना स्थानीयलाई डाक्टर र स्थानीय निकायसंग समन्वय नगरी आफुखुसी प्रतिष्ठान ल्याएर दिनभरी त्यसै राखेको मेयर राईको आरोप छ ।
उनलाई प्रधानमन्त्री केपी शर्मा ओलीले २७ चैत्रमा उपकुलपतिमा नियुक्ती गरेका थिए । उनले २८ चैत्रमा कार्यभार समालेका थिए । कार्यभार समाल्दा उनले सबै निकायहरुसंग सहकार्य गरेर अगाडी बढ्ने बताएका थिए । तर विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस रोकथाम र नियन्त्रण गर्न वीपी कोइराला स्वास्थ विज्ञान प्रतिष्ठानका उपकुलपति गैरजिम्मेवार हुँदै आएको मेयर राईको भनाई छ ।
धरान उपमहानगर र आसपासका छिमेकी स्थानीय तहरुमा कोरोना भाइरस नियन्त्रण र रोकथाम गर्न प्रतिष्ठानका उपकुलपति प्रा डा ज्ञानेन्द्र गिरिले असहयोग मात्र नगरी उपमहानगरसंग समन्वयनै नगरेको प्रमुख राईले दावी गरे । प्रतिष्ठानका सिनेट सदस्य समेत रहेका रहेका मेयर राईले उपकुलपति डा गिरिले कोरोनाको वहानामा प्रतिष्ठानमा खेलाँची गरेर धरानबासीको स्वास्थ्यमा खेलवाड गरिरहेको आरोप समेत लगाए ।
मेयर राईले भने ‘केही दिन अघि उदयपुरबाट ८ जना संक्रमितको स्वाब परीक्षण गर्न प्रतिष्ठान ल्याइएको थियो । यसरी संक्रमित व्यक्ति प्रतिष्ठानमा ल्याउँदा उपकुलपति गिरीले कसैलाई जानकारी समेत दिएनन् । प्रतिष्ठानमै कार्यरत चिकित्सक नर्सहरुलाई समेत जानकारी दिएनन् । उपकुलपति गिरीकोे यसखालको रवैयाले प्रतिष्ठान क्षेत्र र समग्र धरानमा संक्रमणको खतरा बढेको छ ।’ उदयपुरबाट कोरोना भेरिफीकेशनका लागि भनेर थ्रोट स्वाव मात्र ल्याउनु पर्नेमा पुर्व तयारी विना आठजना संक्रमितलाई एक्कासी प्रतिष्ठानमा ल्याइएको मेयर राईको भनाई छ ।

bp
उपकुलपति डा. गिरिले प्रतिष्ठानमा उचित व्यवस्थापन र समन्वय नगरेका कारण धरान नै उच्च जोखिममा पर्न लागेको आरोप लगाउँदै धरान उपमहानगर प्रमुख राईले धरानमा कोरोनाको जोखिम बढेमा प्रतिष्ठानका उपकुलपतिगिरीले जवाफदेहिता बहन गर्नुपर्ने मेयर राईले बताए ।

कोरोना संक्रमित ल्याउदा उचित व्यबस्थापन नगरेको कारण प्रतिष्ठानमा कार्यरत नर्स, चिकित्सक जोखिममा परेको र प्रतिष्ठानमा खटिएका प्रहरी जवानलाई समेत हाल क्वारेन्टाइनमा राखिएको प्रमुख राईले बताए । कोरोना संक्रमण फैलन नदिन धरान उपमहानगरले प्रतिष्ठानसंग सहकार्य, समन्वयका लागि आवश्यक सल्लाह गर्न पटक पटक सम्पर्क गर्दा समेत वेवास्ता गरे, फोन समेत नउठाएको मेयर राईको भनाई छ । उपकुलपति गिरीले आफ्नो मात्र नभई प्रतिष्ठानका जिम्मेवार अन्य पदाधिकारी, कर्मचारी , डाक्टरहरुको समेत फोन नै नउठाउने गरेको मेयर राईले बताए ।