तब्लीग जमातीहरु नेपाल आउनु अपराध होइन । उनीहरुलाई नेपाल सरकारले आउन दिएको हो । लुकेर, सीमा अध्यागमनलाई छलेर कोही आएको देखिएको छैन अहिलेसम्म ।
मुस्लिम मान्छे बिरामी हुनु, महामारी लाग्नु, कोरोना संक्रमणको शिकार बन्नु अपराध वा पाप होइन ।
अहिलेसम्म जति पनि जमातीहरु समाचारको आकर्षण बनेका छन् तीमध्ये कुनै पनि समूह प्रशासनको पहुँचमा थिएन भन्ने सरकारको आधिकारिक भनाइ सार्वजनिक भएको छैन । सबैको खबर स्थानीय सरकारी निकायहरुलाई थियो । यहाँसम्म कि उदयपुरको एक मस्जिदमा रहेका जमातीहरुको बारेमा २२ दिन पहिला नै नगरपालिकालाई जानकारी थियो ।
यी जमातीहरु पहिलेबाट नै नेपालमै छन् । कोरोना संक्रमित भएर कुरा लुकाउनु वा मुलुक बिषम परिस्थितिबाट गुज्रिरहेको बेला मस्जिदमा लुकेर बस्नु अपराध होइन, महा अपराध हो ? तर, कोही लुकेर बसेको कुरा मिडियाको भाषा हो । सरकारले लुकेर बसेको कहिँ कतै भनेको छैन ।
जमाती मुसलमानहरु कोरोना संक्रमित हुनु पाप होइन । केही मिडियाले अनर्गल लेखेर माहौल बिगारिहेका छन् । केही व्यक्तिहरु सामाजिक सञ्जालमा मिथ्या कुराहरु लेखेर देशमा बिद्यमान सामाजिक सद्भाव खलबलाउने र मुस्लिम समुदायको ईमानदार, सच्चा देशप्रेमीको सकारात्मक पहिचानलाई धमिल्यारहेका छन् ।
मुस्लिम आयोग, मुस्लिम नेता, अगुवा, अधिकारकर्मी, ओलमा र बुद्धिजिवीहरुले लगातार आफ्नो समुदायमा कोरोना महामारी, लकडाउन, सोसल डिस्टान्स बारे प्रचार गरिरहेका छन् । लकडाउन सफल पारौं । सामाजिक सदभाव कायम गरौं । घृणा होइन, प्रेम बाँडौं ?
लेखकः पूर्व मन्त्री हुन,उनि सुनसरी निवासी हुन् ।