विराटनगरः अहिलेको संकटलाई पार लगाउनुको विकल्प नभएको प्रदेश नं. १ का प्रमुख सोमनाथ अधिकारी प्यासीले बताएका छन् ।
प्रदेश १ सरकारले निर्माण गरेको कोशी अस्पताल कोरोना उपचार केन्द्रको सोमबार अनुगमन गर्दै प्रदेश प्रमुख अधिकारीले सो कुरा बताएका हुन् । उनले कोरोना भाईरस रोकथाम तथा नियन्त्रणका लागि जनप्रतिनिधिले अहिले सम्म गरेको कामको प्रशंसा समेत गरे ।
उनले विश्वव्यापी महामारीको रुप लिएको कोरोना भाईरस ( कोभिड १) बनावटी विषय नभएकाले सवैलाई सुरक्षित रहन उनले आग्रह गरे । एउटाले कमजोरी गरेमा अर्कोले पूर्ण गर्छ भन्ने विषय नभएकाले कमजोरी गर्ने वित्तिकै ठुलो नोक्सानी व्यहोर्नुपर्ने प्रदेश प्रमुख अधिकारीले भनाई थियो ।
उनले भने,‘ अहिले सम्मको काम राम्रो छ, उच्च मनोवलका साथ काम गर्न आग्रह गर्छु ।’ जनप्रतिनिधि समुदाय समक्ष पुग्ने भएकाले उच्च मनोवलका साथ काम गर्न अधिकारीले निर्देशन समेत दिए ।
कोरोना भाईरस रोकथामका लागि प्रदेश १ सरकारले गरेको कामको सन्देश अन्य प्रदेशमा पनि राम्रो गएको प्रदेश प्रमुख अधिकारीले बताए । सामाजिक विकास मन्त्री जीवन घिमिरेले स्वास्थ्यकर्मीको मनोवल उच्च पार्नका लागि कुनै कसर बाँकी नराखेको प्रदेश प्रमुख अधिकारीलाई जानकारी गराएका थिए ।

मन्त्री घिमिरेले स्वास्थ्यकर्मीको सुरक्षाका लागि विशेष ध्यान दिएको बताए । उनले स्वास्थ्यकर्मीको प्रोत्साहनको काम प्रदेश सरकारले गरेको जानकारी गराएका थिए । कोशी अस्पताल विराटनगरकी मेडिकल सुपरिटेन्डेन्ट डा. संगीता मिश्राले कोरोना अस्पतालका लागि ७÷७ दिनको समूह बनाएर कार्य विभाजन गरिएको प्रदेश प्रमुख अधिकारीलाई जानकारी गराएकी थिइन ।
उनले कोरोना अस्पतालको जनशक्ति व्यवस्थापनको काम भईरहेको बताइन् । प्रदेश प्रमुख अधिकारीसँगै आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्वो, सामाजिक विकास राज्य मन्त्री जयमाया गजमेरले कोरोना अस्पतालको अनुगमन गरेका थिए ।कोरोना अस्पताल ५० वेड क्षमताको रहेको छ । यसैविच सामाजिक विकास मन्त्री जीवन घिमिरेले आज मेची अस्पतालको समेत अनुगमन गरेका छन् । संक्रमितको उपचारका लागि मेची अस्पतालमा २५ वेडको तयारी गरिएको मन्त्री घिमिरेले अनुगमनपछि बताए ।