इटहरीः कोरोना उपचारका लागि आफ्नो अस्पताल सरकारलाई दिने र त्यसका लागि अस्पताल आफै सबै स्वास्थ्य सामाग्रीले तयारी अवस्थामा रहेको भन्दै प्रचारबाजीमा उत्रिएको विराटनगरमा संचालित नोबेल मेडिकल कलेजले खोकेको भन्दै एक बृद्धा बिरामीको उपचार नै नगरी निकालेको छ । नोबेल स्वास्थ्य मन्त्रालयले कोरोना उपचार गर्ने मेडिकल कलेजको सूचीमा राखेको अस्पताल हो ।
मोरङको पथरी शनिश्चरे नगरपालिका वडा नम्बर ७ निवासी एक बृद्धालाई खोक्दा कोरोना लागेको आशंका गर्दै नोबलले उपचार नै नगरि निकालेको हो । प्रदेश नम्बर एकका मुख्यमन्त्री शेरधन राईले निजी अस्पतालले कुनै बहानामा बिरामीको उपचार नगरे सरकारले अस्पतालनै कब्जा गर्ने बताईरहदा नोबेलका डाक्टर र प्रशासनका कर्मचारीहरुले यस्तो हर्कत गरेका हुन् ।
एपेन्डिक्स भएर ती बृद्धा नोबेल भर्ना भएकी थिइन् । उनको शल्यक्रियाका लागि डाक्टर र प्रशासनका कर्मचारीहरुले सबै प्रकृया सकेका थिए । तर ती बृद्धाले केही लगातार खोकेपछि बिरामीको चाप बढ्यो, तत्काल शल्यक्रिया गर्न नसकिने भयो बहाना बनाएर धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान रेफर गरिदिएका थिए । ती बृद्धाको प्रतिष्ठानमा सफल शल्यक्रिया भएर स्वास्थ्य लाभ गरिरहेकी छन् । उनि गत बुधबार नोबेल भर्ना भएकी थिइन् ।
सबै टेष्ट सकेर आफन्तले शल्यक्रियाको बिलसमेत काटिसकेपछि वृद्धालाई खोकी लागेको कारण अस्पतालले शल्यक्रिया नगरेको हो । खोकेपछि नोबेलका डाक्टरले कोरोना पनि रहेछ भन्दै शल्यक्रिया नहुने भन्दै पन्छिएको आफन्तले बताए । खोकेपछि उनको हेरचाहमा डाक्टरसमेत नआएको आफन्तले जनाए ।
आफन्तले बिपी प्रतिष्ठान लगेपछि उनको बिहीबार राति शल्यक्रिया भएको छ । मोरङ क्षेत्र नं. ३ बाट गत प्रतिनिधिसभा निर्वाचनमा पराजित उम्मेदवार रहेका नोबेल सञ्चालक सुनिल शर्माले आफ्नो निर्वाचन क्षेत्रका विरामीलाई सहुलितमा उपचार गर्ने घोषणा गरेको सो क्षेत्रका धेरै विरामी नोबेल जाने गरेका छन् । तर, नोबेलको हर्कत भने यो हदसम्मको छ ।
खोकैकै भरमा कुनै परीक्षण नगरी र अरु लक्षण नहुँदा पनि आमालाई कोरोना लागेको भनेर परिवारलाई नै तनाब दिने काम नोबेलले गरेको बृद्धाका छोराले बताए ।राम्रो अस्पताल ठानेर नोवेल लगिएकोमा डाक्टरले शल्यक्रिया गर्नलाग्दा बिरामीले खोकेपछि बिपी रेफर गर्नु कहाँसम्मको हर्कत हो ? कोरोनाको उपचार गर्ने दावी गरेको अस्प्तालले विरामीले खोक्नसाथ रेफर गरेको भन्दै बृद्धाको छोराले आक्रोश पोखे ।
बीपी प्रतिष्ठानको शल्यक्रिया विभागका डा. निर्मल साहले बृद्धामा एपेन्डिक्सको कारण तीन दिनदेखि पेट दुखेर ज्वरो पनि आएको पाइएको बताए । बिहीबार राति शल्यक्रिया गरिएपछि बिरामीको अवस्था सामान्य रहेको प्रतिष्ठानले जनाएको छ ।




















