विराटनगरः आज प्रदेश १ सरकार गठन भएको ठिक दुई वर्ष पुरा गरेर तीन वर्षमा प्रवेश गरेको छ । यो बिचमा प्रदेश सरकारले गरेका उपलब्धिहरूको आज मुख्यमन्त्री कार्यालय विराटनगरमा सार्वजनिक भएको छ ।
प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’को उपस्थितिमा भएको सार्वजनिक कार्यक्रममा प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले कानुन, पूर्वाधार देखी आवधिक योजना निर्माणका क्षेत्रमा प्रदेश सरकारले गरेका कामहरूको फेहरिस्त सुनाएका थिए । यी हुन मुख्यमन्त्री राईले सार्वजनिक गरेका प्रदेश १ सरकारका दुई बर्से उपलब्धिहरुः
१. सङ्घीयता र संविधान कार्यान्वयनका लागि प्रदेशको क्षेत्राधिकारका विषयमा ३९ वटा कानुन तर्जुमा । कानुन कार्यान्वयनमा सघाउ पुर्याउन विभिन्न नियमावली, निर्देशिका, कार्यविधि, मापदण्ड र गठन आदेशहरूको तर्जुमा
२. प्रदेशसभाबाट हाम्रो प्रदेशको राजधानी सर्वसम्मतिमा घोषणा
३. अवधिमा प्रदेश समन्वय परिषद्को तीन वटा बैठकहरू सम्पन्न गरेर महत्त्वपूर्ण निर्णयहरूका साथ स्थानीय तहसँगको सम्बन्ध, समन्वय र सहकार्यलाई सुदृढ तुल्याउने अधिकतम प्रयास
४. “स्वच्छ, सुखी र समुन्नत प्रदेश” को दीर्घकालीन सोच र उद्देश्य सहित प्रथम आवधिक योजना तर्जुमा गरी सार्वजनिक
५. प्रदेशको विकासमा स्वदेशी तथा निजी क्षेत्रको लगानी भित्र्याउन सार्वजनिक निजी सहकारी साझेदारी तथा लगानी प्राधिकरण ऐन, २०७६ बमोजिम आवश्यक प्रक्रिया अघि बढाउन आयोजना बैङ्क तयार , पहिलो चरणमा सूचीकृत २६ परियोजनाहरूलाई समावेश, आगामी ०७७ वैशाखमा लगानी सम्मेलनको तयारी
६. प्रादेशिक सडक सञ्जालको १० वर्षे गुरुयोजना बनाई सार्वजनिक, साना सिँचाई, सहरी विकास, पर्यटन विकास लगायतको १० वर्षे गुरुयोजनाले अन्तिम रूप निर्माण हुँदै
७. पूर्वाधारतर्फ २७ किलोमिटर सडक कालोपत्रे, १२९ किलोमिटर सडक ग्राभेल १० वटा मोटरेवल पुल र १५ वटा झोलुङ्गे पुल निर्माण सम्पन्न, प्रत्येक प्रादेशिक निर्वाचन क्षेत्रमा १–१ वटा गरी जम्मा ६२ वटा बहुवर्षीय सडक, ८७ वटा मुख्यमन्त्री ग्रामीण सडक, १२६ वटा मोटरेवल पुल र ११४ वटा झोलुङ्गे पुल धमाधम निर्माण हुँदै
८. प्रदेशका खेती योग्य जमिनहरूमा सिँचाई पुर्याउन १२९ वटा योजनाहरू सम्पन्न, ६३१ वटा योजनाहरू निर्माण हुँदै
९.खानेपानीका ११० वटा आयोजनाहरू सम्पन्न, ९४९ वटा आयोजनाहरू बन्दै
१०. प्रदेशका विपन्न तथा पिछडिएका जनताका लागि “जनता आवास कार्यक्रम” अन्तर्गत १७१ वटा घर निर्माण सम्पन्न
११. मनमोहन प्राविधिक विश्वविद्यालयको स्थापना
१२. समृद्धिका लागि एकीकृत जैविक स्रोत नामक २५० जना स्वदेशी तथा विदेशी वैज्ञानिकहरूको सहभागितामा वैज्ञानिक सम्मेलन सम्पन्न
१३. मिल्क होलिडेको अन्त्य , इलामको फिक्कल कन्याम सूर्योदय नगरपालिकामा एक टि टेस्टिंग एण्ड प्रोमोशन सेन्टर निर्माण कार्य हुँदै
१४. कोसी रिफ्रेसमेन्ट सेन्टरको डिपीआर तयार भई निर्माणको प्रक्रिया अगाडि बढ्दै
१५. विश्व कीर्तिमानी हिमाल आरोही कामिरीता शेर्पा, राष्ट्रियगानका रचनाकार प्रदीप कुमार राई (व्याकुल माइला), विश्व अल्ट्रा धाविका मिरा राईलाई सम्मान
१६. ९० वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई सम्मान, आठौँ साफ महिला फुटबल प्रतियोगिताको उपवितेजाहरुलाई पुरस्कार तथा सम्मान, १३ औै साग विजेता प्रदेशका खेलाडीहरूलाई सम्मान र पुरस्कार, छिन्ताङ्ग घटनाका सहिद परिवारलाई राहत वितरण
१७. गत वर्षको ५ प्रतिशतको हाराहारीमा मात्र विकास खर्च भएकोमा, यो वर्ष विकास खर्च २५ प्रतिशत भन्दा बढी भएको तथ्याङ्क