सम्राट क्लाउडियस, 

तिम्रो बिषालु आत्माको संकिर्ण च्याम्बरबाट
उब्जेको कसाइले
झुण्डाएर जसरी मार्यो
सेन्ट भ्यालेन्टाइन
भलै घुट घुट मर्यो ,अनन्त प्रेमको एउटा पुजारी
तर उस्को रक्तबिजहरुले जन्मायो
हजारौं मौलाना प्रेमका युगल समवेतहरु
कुट कुट भरियो तिनमा प्रेमका प्रस्तरहरु
तिमिले सोच्यौ होला
तिम्रो बर्बरताको अधिराज्यमा
त्रस्त त्रस्त र भयक्रान्त हुनेछन् सबै
बिलिन भएर जानेछ समवर्ती आत्माहरु
किनारबाटै उठ्नेछ चरम क्रुरताको आँधि
र निमोठिने छ प्रेमका तमाम पालुवाहरु

सम्राट क्वाउडियस,
कायरताको प्रतिबिम्व होइन सेन्ट भ्यालेन्टाइन
उ त अमर प्रेमको एक आदिम चिराग हो
जो यो ब्रम्हाण्ड रहेसम्म बलिरहनेछ
प्रत्येक प्रेमिल आत्माहरुमा

तिमिले ठान्यौ होला
लडाकु छातीमा उम्रिनु हुदैन प्रेमको बिउ
युद्धको मैदानमा मौलाउनु हुदैन
प्रेमको अंकुरण
तिमिलाई के थाहा
प्रेम जीवनको अमृत हो भन्ने
जस्को पानले जिवित छ समग्र सृष्टि

संवेदनाबिहिन कुटिल हृदयले बिषाद भन्दा पर
सोच्न पो के सकोस्
तर तिम्रो अधिराज्यको सिमाना भन्दा
करडौं मिल फराकिलो हुन्छ प्रेमको साम्राज्य
जाँहा हजारौं सेन्ट भ्यालेन्टाइनहरु
बलिदानको लागी तयार हुनेछन्
अपसोच,
आज भोली साप्ताहिक प्रेमको पछाडी
जोडिन थालेको छ भ्यालेन्टाइनको नाम
धुमिल हुदैछ प्रेमको परिभाषा
हठात् मुर्झाउदैछ प्रेमको गुलाफ ।